काठमाण्डौ । कोरोना संक्रमित शिक्षकको मृत्युको विषयमा जिम्मेवारहरुबाटै भ्रम छर्ने काम भएको देखिएको छ । 

केही घण्टाअघि प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले टेलिफोनमा कुराकानी गर्दै कोरोनाबाट संक्रमित भई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचार गराइरहेका ४१ वर्षीय पुरुष(शिक्षक)को निधन भएको पुष्टि गरेका थिए । 

उनलाई उद्धृत गर्दै केही संचारमाध्यमले कोरोना संक्रमित भई गम्भीर अवस्थामा भेन्टिलेटरमा राखेर उपचार गराइराखेका शिक्षकको मृत्यु भएको समाचार प्रकाशन गरेका थिए । 

समाचार प्रकाशनको क्रममा सो अस्पतालका संचालक दुर्गा पाण्डेले समेत गम्भीर अवस्थाका ती शिक्षकको मृत्यु भएको पुष्टि गरेका थिए । 

सम्बन्धित प्रदेशका सामाजिक विकास मन्त्री र अस्पतालका संचालकले समेत कोरोना संक्रमित ती शिक्षकको मृत्यु भएको पुष्टि गरे पनि अस्पतालको फेसबुक पेजमा मध्यान्ह १२ बजे एक विज्ञप्ति पोष्ट भएको छ । बिना हस्ताक्षरको विज्ञप्तिमा मृत्यु भएका भनिएका ती पुरुषको मृत्यु भइनसकेको र उनको अवस्था गम्भीर रहेको दाबी गरिएको छ । 

ती व्यक्तिको आइसीयू कक्षमा भेन्टिलेटरको सपोर्टमा उपचार जारी रहेको र अवस्था गम्भीर रहेको अस्पतालले दाबी गरेको छ । 

एकातिर मन्त्री र अस्पतालकै संचालकको मृत्यु भएको भन्ने पुष्ट्याई र त्यसको केही समयपछि नै अस्पतालको फेसबुक पेजमा मृत्यु भएको होइन भन्ने दाबीले सर्वसाधारण भने अन्यौलमा परेका छन् । 

मृत्यु नै भएको थिएन भने जिम्मेवार मन्त्री र अस्पतालकै संचालकले के आधारमा मृत्यु भयो भने ? यदि मृत्यु नै भइसकेको हो भने अस्पताल फेरि किन यो घटना लुकाइरहेको छ ? यस्ता जिज्ञासाहरुको उत्तर पाउन केही समय कुर्नैपर्ने देखिएको छ । 

*प्रदेश ५ का सामाजिक विकास मन्त्री र अस्पतालका संचालक समेतलाई आधार मानेर यसअघि प्रकाशित समाचार गलत भएको र सोही समाचार सम्प्रेषण भएकोमा क्षमाप्रार्थी छौ .