काठमाण्डौ । हाल देशमा पश्चिमी वायुको प्रभाव कायम रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका तराई भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बिहीबार सामान्यदेखि पूर्ण बदली र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ। 

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थान तथा गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भूभागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा बागमती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

यस्तै शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यसका साथै गण्डकी तथा लुम्बिनी प्रदेशको १–२ स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। 

देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरुमा शुक्रबार हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाको अनुमान छ। 

देशका प्रदेश नं. १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा शनिबार सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। जसअनुसार प्रदेश नं. १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।