काठमाण्डौ । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा पनि पीसीआर टेस्ट सेवा सुरु भएको छ।

कारोना संक्रमणको जोखिम बढ्दै गर्दा रियल टाइम पीसीआर टेस्टको आवश्यकता पनि दिनानुदिन बढ्दै गएको विषयलाई महसुस गर्दै मेडिसिटी अस्पतालले यो सेवा सुरु गरेको हो। विश्वमा उत्कृष्ट पीसीआर, जिन एक्सट्राक्टरलगायतका भरपर्दो र सटिक परिणाम दिने उपकरणहरुका माध्यमबाट मेडिसिटी अस्पतालले दैनिक करिब ८ सयभन्दा बढीको स्याम्पल लिई रिपोर्ट दिन सक्ने क्षमता रहेको मेडिसिटी अस्पतालका ल्याबोरेटोरी विभाग प्रमुख डा. गोपी अर्यालले बताए। 

विगत केही महिनादेखिको प्रयासपश्चात सफल रुपमा जडित पीसीआर टेस्ट मेसिन र टेस्ट प्रक्रियालाई सरकारद्वारा मान्यता प्रदान गरिएको छ। पीसीआर टेस्टका लागि आउनुपूर्व अस्पतालमा नाम दर्ता गराउनुपर्छ। जसका लागि ०१–४२१७७६६ मा सम्पर्क गर्न सकिने अस्पतालले जनाएको छ। 

स्वाब संकलन गरिएको २४ घन्टाभित्र नतिजा प्राप्त हुने डा. अर्यालले बताए। उनले ओपीडीमार्पmत आउने र भर्ना भएका बिरामीका लागि पीसीआर टेस्ट गर्ने संयन्त्र फरक रहेको पनि जानकारी दिए। 

यसका साथै विदेशी नियोग, वैदेशिक रोजगारीमा जाने नेपाली, बैंक तथा कर्पोरेटहरुलाई मेडिसिटीले सहुलियत शुल्कमा पीसीआर टेस्ट गरिरहेको अस्पतालका महाप्रबन्धक विजय रिमालले बताएका छन्।