काठमाण्डौ । मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ आज बुधबार बाँडफाँड गरिएको छ। 

धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले आईपीओ बाँडफाँड गरेको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान १०ः३० बजे राखिएको थियो। 

कम्पनीले गत वैशाख ४ गतेदेखि वैशाख ७ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। यो कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल १० लाख ८५ हजार १६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ८ हजार ५१७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकिएको थियो। 

त्यस्तै ५ प्रतिशतले हुन आउने ५६ हजार ९९ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २२ हजार ४३९ कित्ता कर्मचारीका लागि छुट्याइएको यिथो। बाँकी ९ लाख ३४ हजार ९१४ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

यो आईपीओमा १२ लाख ४४ हजार ३८५ आवेदकबाट कुल १ करोड ३७ लाख २० हजार ३० कित्ता सेयर माग भएको थियो। त्यसमध्ये ११ लाख ७८ हजार ७३९ आवेदकबाट परेको १ करोड २६ लाख ३६ हजार ८७० कित्ता सेयर सदर भएको छ भने ६५ हजार ६४६ आवेदकबाट परेको १० लाख ८३ हजार १६० कित्ता सेयर रद्द भएको छ। 

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी ९३ हजार ४९१ जनाले १० कित्ताका दरले सेयर पाएका छन् भने तिनै भाग्यमानीमध्ये ४ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्। यो हिसाबले सदर आवेदकमध्ये १० लाख ८५ हजार २४८ आवेदकको हात खाली भएको छ। 

यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा आईपीओ निष्कासन गर्ने कम्पनी र धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट तथा सीडीएससीको iporesult.cdsc.com.np मा गएको हेर्न सकिन्छ।