काठमाण्डौ । खानेपानीमन्त्री उमाकान्त चौधरीले राजधानी काठमाण्डौवासीलाई मेलम्चीको पानी चाँडोभन्दा चाँडो उपलब्ध गराउन आफूले गृहकार्य गरिरहेको बताएका छन्। 

नेपाल निजामती कर्मचारी युनियनको खानेपानी मन्त्रालय विभागीय कार्यसमितिको आठौँ विभागी अधिवेशनको आइतबार उद्घाटन गर्दै मन्त्री चौधरीले भने, ‘पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईको सपना पूरा गर्न पनि मैले मेरै कार्यकालमा राजधानीबासीलाई मेलम्चीको पानी खुवाउँछु।’

मन्त्री चौधरीले विगतको सरकारको जस्तो हतारमा लतार गरेर काम गर्ने पक्षमा आफू नरहेको भन्दै कांग्रेसको सरकारको पालामा काम हुने तर हतारमा विगतका सरकारले उद्घाटन गर्ने क्रियाकलापले विकृति र विसंगति नै फैल्याएको बताए। कर्मचारीहरुको सहयोगमा काठमाण्डौवासीलाई चाँडोभन्दा चाँडो मेलम्चीको पानी खुवाउने आफ्नो योजना रहेको भन्दै उनले आफूहरुले बनाएको नियम, कानून र योजना कार्यान्वयन गर्ने जिम्मेवारी कर्मचारीको भएको बताए। 

‘निजामती कर्मचारी भनेकै सरकारको मेरुदण्ड हो । निजामती कर्मचारी युनियन नेपाली कांग्रेसको शुभेच्छुक संगठन भएर दिएको योगदान सरकारलाई समेत सहयोग हुन्छ’, मन्त्री चौधरीले भने, ‘कर्मचारीको सेवा सुविधा, पेसागत हक हितको लागि युनियनको माग पूरा गराउन मत तयार छुु तर सरकारको काम पनि कर्मचारीले गरेर देखाउनु पर्छ।’

मन्त्री चौधरीलेले मन्त्रालय मातहतका करार, अस्थायी र ज्यालदारी कर्मचारीलाई राज्यले सम्मान गर्ने भन्दै प्रस्तावित निजामती ऐनमा रहेको कर्मचारीको पेसागत हित विपरितका प्रावधान संशोधन गर्न आफूले पहल गर्ने बताए।