– भक्तराज रसाइली 
काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) को मेरो सेयर पोर्टलको प्रयोगकर्ताहरुको संख्या दिनानुदिन बढ्दो छ ।

सिडिएससीले ल्याएको प्रविधि प्रयोगमैत्री भएरै नयाँ कम्पनीका प्राथमिक निष्कासन र नेप्सेमा सूचीकृत कम्पनीका हकप्रद सेयर आवेदन गर्ने लगानीकर्ताहरुको संख्या पछिल्लो समय बढ्दै गएको हो। सिडिएससीको आजको तथ्यांकअनुसार १५ लाख ६१ हजार ४२७ संख्यामा डिम्याट खोलिएका छन् । जसमध्ये मेरो सेयर पोर्टलको प्रयोगकर्ता ५ लाख ८४ हजार ७६ रहेका छन् । यसको अर्थ सिडिएससीको मेरो सेयर प्रयोगकर्ता ३७.४१ प्रतिशत हुन आउँछ ।

प्राथमिक निष्कासन (आइपीओ) मा मेरो सेयरको पोर्टल प्रयोगकर्ता करिब ८० प्रतिशत हुन आउँछ । पछिल्ला आइपीओहरु घोडाघडी लघुवित्त, आँधीखोला लघुवित्त र हिमाल दोलखा हाइड्रोपावरमा खुलेको सेयर आवेदनमा क्रमशः ७९.४६ प्रतिशत ,७८.६१ प्रतिशत र ८६.०१ प्रतिशत मेरो सेयरबाटै आवेदन गरिएको सिडिएससीको दाबी छ । म्युचुअल फण्डका स्किमहरुमा मेरो सेयरबाट करिब ९५ प्रतिशत आवेदन आउने गरेको छ ।

यसैगरी नेप्सेमा सूचीकरण भएका कम्पनीहरुले आवेदन गरेको हकप्रदमा भने कुल आवेदनमध्ये ८५ प्रतिशत मेरो सेयरबाट र बाँकी १५ प्रतिशत भौतिक आवेदन पर्ने गरेको सिडिएससीको भनाइ छ ।

यस्तै दोस्रो बजारमा सेयर बिक्री गरेपछि सम्बन्धित लगानीकर्ताको डिम्याट खाताबाट सेयर डेबिट गर्न दिइने निर्देशनमध्ये मेरो सेयर पोर्टलकै अर्को फिचर माई इडीआइएस (इलेक्ट्रोनिक डेबिट इन्स्ट्रक्सन स्लिप) बाट सेयर हस्तान्तरण गर्नेको संख्या ६८ प्रतिशत रहेकोमा बाँकी १२ प्रतिशत ब्रोकर कार्यालयमै उपस्थित भई डीआईएस चेकबाट सेयर हस्तान्तरण भइरहेको सिडिएससीले जनाएको छ ।

पुतलीसडकमा रहेको ब्रोकर नम्बर ४९ अनलाइन सेक्युरिटीज प्रालिका अनुसार आफ्नो ब्रोकर कार्यालयमा रहेका कुल कारोबारीमध्ये औसत ९० प्रतिशत ईडीआइएसमार्फत नै सेयर हस्तान्तरण हुने गरेको छ ।

यसैबीच अनामनगरस्थित ब्रोकर नम्बर ५७ आर्यतारा इन्भेस्टमेन्ट एण्ड सेक्युरिटीज प्रालिले आफूकहाँ भएका सेवाग्राहीमध्ये ईडीआइएस प्रयोगकर्ता मोटामोटी ८० प्रतिशत रहेको जानकारी दिएको छ।