काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले ‘मेरो सेयर’ पोर्टलमा अत्याधिक भार परेपछि अर्को साता एउटा सर्भर थप्ने भएको छ।

पछिल्लो समयमा सीडीएससीको मेरो सेयर पोर्टलमा विशेषगरी आईपीओ खुलेको बेला प्राविधिक समस्या आउने र सिस्टम नै नचल्ने समस्या यथावत छ। यस्तै प्राविधिक समस्यालाई ध्यानमा राखेर आगामी असोज २१ गतेबाट सानिमा जनरल इन्स्योरेन्सको आईपीओ खुल्नुअगावै थप एउटा सर्भर जडान गर्ने तयारी भइरहेको सीडीएससीका नवनियुक्त सीईओ पूर्णप्रसाद आचार्यले जानकारी दिए। 

मेरो सेयरको सिस्टम भेन्डर कम्पनी एफवान सफ्टलाई समेत हाल देखा परिरहेको समस्या हल गर्न निर्देशन दिएको र आवश्यक व्यवस्थापनका लागि ध्यानाकर्षण गराएको आचार्यको भनाइ छ। मेरो सेयरको प्रयोगकर्ता अनपेक्षित रुपमा दिनानुदिन बढिरहेकाले समेत समस्या आएको उनले दाबी गरे। 

एकजनाले नै दिनभरिमा १० पटकसम्म मेरो सेयर चलाउँदा समेत अधिक भार परिरहेको आचार्यको तर्क छ। मेरो सेयरबाट आईपीओ आवेदन गर्दा अफिस टाइममा गर्ने परिपाटीले समेत ट्राफिक जाम बढेको उनले बताए। अफिस टाइमबाहेक बिहान वा बेलुकीको समयमा आईपीओ आवेदन पनि गर्न मिल्ने व्यवस्था भएकाले सो समयलाई सदुपयोग गर्न उनले आग्रह गरेका छन्।

सेयर बिक्रीपश्चात सेयर हस्तान्तरण गर्न अनिवार्य ईडीआईएसको व्यवस्था भएसँगै हाल मेरो सेयर प्रयोगकर्ताको संख्या ९ लाख ५३ हजारभन्दा धेरै पुगेको सीडीएससीले जनाएको छ। पछिल्लो १ महिनामा मात्र डिम्याट खाता खोल्नेको संंख्या २ लाख ८० हजारभन्दा बढी छन्।

आजसम्म डिम्याट खाताको संख्या २० लाख ११ हजार ९०० पुगेको छ। मेरो सेयर प्रयोगकर्ताको संख्या भने १० लाख हाराहारी रहेको छ।