-भक्तराज रसाइली
काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको 'मेरो सेयर' पोर्टलमा लगानीका अवसरहरुको विवरणसम्बन्धी नयाँ फिचर थप गर्न लागिएको छ । 

सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकास गुप्ताले बिजशालासँग कुरा गर्दै नयाँ कम्पनीका निश्कासन हुन लागेका आइपीओ, नेप्सेमा सूचीकृत कम्पनीको निष्कासन हुन लागेका हकप्रद, अक्सनका बारेमा जानकारी दिने हेतूले 'मेरो सेयर'मा फिचरहरु थप गर्न लागिएको जानकारी दिए ।

सिडिएससीको तथ्याङ्क अनुसार 'मेरो सेयर'को रजिष्टर्ड डीपीहरुको संख्या ६९ छ । 

करिब १५ लाख डिम्याट खाता रहेकोमा करिब पौने ५ लाख 'मेरो सेयर' प्रयोगकर्ता रहेका सिडिएससीले जनाएको छ । 

हाल 'मेरो सेयर'मार्फत आइपीओ र हकप्रद भर्न सहज ढंगबाट पाइरहेको अवस्थामा आउँदै गरेका नयाँ कम्पनीका प्राथमिक सेयर निष्कासन, विभिन्न कम्पनीका हकप्रद बारे अग्रिम जानकारी र सूचनाले लगानीकर्ताहरुलाई  अधिक फाइदा हुने जानकारहरु बताउँछन् ।  

सिडिएससीको 'मेरो सेयर' फिचरमार्फत प्रयोगकर्ताहरुले आफ्नो डिम्याट खातामा रहेको सेयरको विवरण, पोर्टफोलियो विवरण, कारोबार इतिहास,चालू इस्यू , इडीआइएस लगायतका सुविधा पाइरहेका छन् ।

योसँगै सिडिएससीले केही दिनअघिदेखि 'मेरो सेयर'मै सार्वजनिक निश्कासन गर्ने कम्पनीहरुको विवरणपत्र समेत हेर्न पाउने व्यवस्था गरेको थियो ।