-भक्तराज रसाइली 
काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले 'मेरो सेयर' पोर्टलमार्फत  सेयर हस्तान्तरणमा थप भएको ईडीआईएसबाट दोहोरो डेबिट भएर सेयर लगानीकर्ताहरु मारमा परेका छन् ।

पुतलीसडकस्थित एक ब्रोकर कार्यालयमा भेटिएका दोश्रो बजारका सक्रिय लगानी गरिरहेका सोमप्रसाद सुबेदीले 'मेरो सेयर'बाट ईडीआइएस गर्दा आफ्नो डिम्याट खाताबाट दोहोरो सेयर हस्तान्तरण भइरहेको गुनासो गरे । 

सुबेदीले केही दिनअघि सिद्धार्थ बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको क्रमशः २०० कित्ता र ४०० कित्ता बेचेकोमा इडीआइएस मार्फत सेयर हस्तान्तरण गर्दा क्रमशः ४ सय कित्ता र ८ सय कित्ता डेबिट भई आफ्नो पोर्टफोलियोबाट घटेको सुनाए । 

उनले 'मेरो सेयर'को ट्रान्सफर रिक्वेस्ट रिपोर्ट देखाउँदै लगानीकर्ताको नजरमा विश्वसनीय काम गरिरहेको सिडिएससी गम्भीर बन्नुपर्नेमा जोड दिए ।

उनले आफ्नो डिम्याट खाताबाट सेयर अनाहकमा घटेपछि ब्रोकरलाई गुनासो राख्दा सिडिएससीमा गएर निवेदन दिन सुझाएको बताए ।

पछिल्लो समय सिडिएससीले लगानीकर्ताको विश्वास जित्दै गएकोमा यस्तो घटना  हुँदा सिडिएससीको कामप्रति संशय उत्पन्न हुनसक्ने लगानीकर्ता बताउँछन् ।

सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले घटना बुझेर मात्र आफूले केही भन्न सक्ने बताए । 

यसैबीच, आज सिडिएससीको 'मेरो सेयर'मा घरि-घरि वेब नखुल्ने समस्या आइरहेको छ  । 

अहिले ९ वटा सेयर इस्स्यू भइरहेको उल्लेख गर्दै प्रवक्ता न्यौपानेले प्रतिमिनेट २ सय प्लस आवेदन आईरहेकाले सिस्टममा लोड परिरहेको प्रष्ट्याए ।