काठमाण्डौ । साउन १ गते बिहीबारदेखि 'मेरो सेयर'को नवीकरण(रिन्यू) रियल टाइममा हुने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ। 

योसँगै अब लगानीकर्ताले सिधैं पेमेन्ट गेट्वेबाट भुक्तान गरेपछि तत्कालै 'मेरो सेयर' नवीकरण हुनेछ । 

'आजदेखि हामीले 'मेरो सेयर' नवीकरण रियल टाइममा  हुने व्यवस्था मिलायौ, अब चाँडै नै डिम्याट खाता नवीकरणलाई पनि अटोमेटिक बनाउँदैछौं ।' सिडीएससीका प्रवक्ता सुरेश न्यौपानेले आइतबार बिजशालासङ्ग भने-'हामी परीक्षणको अन्तिम चरणमा छौं, अब छिट्टै डिम्याट खाताको रिन्यू पनि अटोमेटिक हुन्छ ।'

लगानीकर्ताहरुले अनलाइन पेमेन्ट गेट्वेबाट 'मेरो सेयर' रिन्यूको रकम भुक्तान गरे पनि डीपीहरुबाट समयमा  रिन्यू नभइरहेको समस्या र गुनासाहरु व्यापक थियो । 

यसअघि डीपीहरुले म्यानुअल इन्ट्री गर्नुपर्ने भएकोले मेरो सेयरको रिन्यूमा ढिलाइ भइरहेको थियो । उसो त सेयर ट्रान्सफर गर्न इडीआइएस अनिवार्य हुनुपर्ने व्यवस्था भएसँगै 'मेरो सेयर'को नवीकरण रियलटाइम र अटोमेटिक हुनुपर्ने आवश्यकता महसुस भएको थियो । 

'मेरो सेयर'को वार्षिक नवीकरण शुल्क ५० रुपैयाँ लाग्दै आएको छ । इसेवाबाट भुक्तानी गर्दा थप ५ रुपैयाँ तिर्नुपर्छ भने खल्तीमार्फत 'मेरो सेयर' नवीकरण गर्दा आधा २५ रुपैयाँमात्रै तिरे पुग्छ ।