काठमाण्डौ । 'मेरो सेयर'मा उपलब्ध अधिकांश मुख्य फिचर्स अवरुद्ध हुँदा सीडीएस एण्ड क्लियरिङ लिमिटेडका सीइओ हिजोको जवाफ दोहोर्याउँदै आज साँझबाट सेवा सुचारु हुने दाबी गरेका छन् । 

विगत केही दिनदेखि 'मेरो सेयर'मा भएका सेवाहरु लगानीकर्ताहरुले सहज ढंगले प्रयोग गर्न नपाइरहेको मात्रै होइन कि लगइन नहुने, 'मेरो सेयर'मा उपलब्ध सेयर संख्या यकिन गर्न नसकिने, इडीआइएसलगायत गर्न नमिल्ने थुप्रै समस्याहरु आएपछि सेवाहरु २ दिनदेखि अवरुद्ध भएका छन् ।

हाल बढ्दो बजारमा अत्यधिक लगानीकर्ताहरुले 'मेरो सेयर' हेर्ने र हाल खुलिरहेको आइपीओ तथा हकप्रदमा आवेदन गर्ने, लगायत गतिविधि गर्दै आइरहेका छन् । नियामक धितोपत्र बोर्डले समेत सेयर हस्तान्तरणका निम्ति डीआइएसको सट्टा इडीआइएस अनिवार्य गरेपछि सीडीएससीको 'मेरो सेयर'मा अधिक भार परेको आइटी जानकारहरु बताउँछन् । 

बढ्दो बजारमा लगानीकर्ताहरु दोब्बर, तेब्बर संख्यामा सक्रिय हुँदा त्यसको भार 'मेरो सेयर'मा परेको र यो समस्या अझै बढ्न सक्ने आइटी जानकारहरु दाबी गर्छन् ।

तर यता केही दिनदेखि सीडीएस एण्ड क्लियरिङ लिमिटेडको 'मेरो सेयर' पोर्टलका सेवाहरु अवरुद्ध भएकोमा आज साँझदेखि सहज रुपमा सुचारु हुने सीडीएससीका सीइओ पूर्णप्रसाद आचार्य दाबी गर्छन् । हाल सिस्टम भेण्डर कम्पनी र सीडीएससीको आइटी टिम समस्या पहिल्याउन प्रयास गरिरहेको र हाल अल्पकालीन स्रोतबाट अवरुद्ध 'मेरो सेयर' पुनः सुचारु हुने उनको दाबी छ । 

आचार्यले विगत २ दिनदेखि 'मेरो सेयर'को सेवाहरु अवरुद्ध भएको र समस्याको यकिन कारण पत्ता लगाउने प्रयास भइरहेको जिकिर गर्दै बजारको विस्तार र लगानीकर्ताहरुको उल्लेख्य वृद्धिका कारण सीडीएससीको क्षमताले धान्न नसक्दा सिस्टममा अत्यधिक भार परेको बताए ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले 'मेरो सेयर'को सेवा अवरुद्ध भइरहेकोमा आपत्ति जनाउँदै तत्काल सुचारुका लागि पहल लिइदिन नियामक धितोपत्र बोर्डलाई आग्रह गरे । बढ्दो बजारमा आफूसँग रहेको सेयरको विवरण हेरेर किनबेच हुने गरेका कारण यसरी रणनीति बनाउनेहरु समेत 'मेरो सेयर' नचल्दा प्रभावित भएका र लगानीकर्ताहरुलाई अलपत्र पार्ने कार्य उचित नभएको उनको ठहर छ । अनाहकमा लगानीकर्तामाथि क्लोजआउटको भार थोपर्ने काम तत्काल बन्द गर्नुपर्ने उनको माग छ ।

सीडीएससीको सिस्टममा भार परेसँगै 'मेरो सेयर' अवरुद्ध हुँदा राफसाफ समय पनि प्रभावित हुँदै आइरहेको छ । 

यस्तै, 'मेरो सेयर' नचलेकै कारण अब ठूलो रकम क्लोजआउट जरीवानाका रुपमा सीडीएससीले उठाउन सफल हुने देखिन्छ । एकातिर सिस्टमप्रति दूरदर्शिता नराख्ने र सेयर बजारको संवेदनशीलतामाथि नै सीडीएससीले खेलवाड गरेको भन्दै लगानीकर्ताहरुले सामाजिक सञ्जालहरुमा रोष प्रकट गरिरहेका छन् ।