काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले मोक ट्रेडिङमा धेरै समस्या आएको स्वीकार गरेको छ । तर उसले घुमाउरो ढंगले मोकमा आएको समस्याको दोष ब्रोकर र उनीहरुका क्लाइन्ट(लगानीकर्ता)माथि थोपरेको छ । 

नेप्सेले शुक्रबार सबै ब्रोकरहरुको नाममा एक निर्देशन जारी गर्दै यस्तो आरोप लगाएको छ भने समस्या समाधानका लागि केही टिप्सहरु समेत दिएको छ । 

निर्देशनमा भनिएको छ–‘लगानीकर्ताहरुदारा मोक ट्रेडिङ गर्न नसकिएको फिडब्याक प्राप्त भइरहेको छ । पासवर्ड रिसेट गर्न नसकिएको, ओटीपी प्राप्त नभएको जस्ता गुनासा धेरै मात्रामा आएको हुँदा सम्पूर्ण ब्रोकर सदस्यहरुले आफ्ना क्लाइन्टको भ्यालिड इमेल एडेस तथा मोवाइल नम्बर हाल संचालनमा रहेको नेप्से कारोबार प्रणालीमा अनिवार्य रुपमा अपडेट गर्न पनि अनुरोध छ ।’ 

लगानीकर्ताहरुले समेत आफ्नो भ्यालिड इमेल एड्रेस ब्रोकरहरुलाई प्रदान गरी अपडेट गराउन नेप्सेले आग्रह गरेको छ । 

नेप्सेका अनुसार दिनभर अपडेट भएका क्लाइन्ट इमेल एड्रेस तथा मोवाइल नम्बरहरु हरेक दिन राति ८ बजे स्वतः हरेक ब्रोकरको टिएमएसमा अपडेट अपडेट गरिनेछ । 

नेप्सेले पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको पूर्वसन्ध्यामा मंगलबारदेखि सुरु गरेको मोक ट्रेडिङमा बग्रेल्ती समस्या आइरहेको छ। पर्याप्त तयारीबिना नै नेप्सेले मोकलाई कार्यान्वयनमा ल्याएको भन्दै यसको तीव्र आलोचना भइरहेको छ । लगानीकर्ताले मोकको नाममा नेप्सेले बजारमा जोक गर्न खोजेको भन्दै यसको  कडा आलोचना गरिरहेका छन् । कतिपयले नेप्सेले पर्याप्त तयारीबिना नै लगानीकर्ताको आँखामा छारो हाल्ने नियतले मोक ट्रेडिङको नाटक गरेको संगीन आरोपसम्म लगाउन भ्याएका छन् । 

यस्ता आरोपहरु खेप्नु परेपछि बिहीबार मात्र नेप्सेले सबै ब्रोकरहरुलाई अलग अलग यूआरएल उपलब्ध गराएको थियो । तर, त्यसपछि पनि

लगानीकर्ताबाट गुनासो आउने क्रम नरोकिएपछि शुक्रबार ब्रोकरकै नाममा निर्देशन जारी भएको नेप्से स्रोतले जनाएको छ ।