काठमाण्डौ । मोदी इनर्जी लिमिटेडको आईपीओमाआवेदन दिने आज वैशाख २४ गते अन्तिम दिन रहेको छ। 

कम्पनीले गत वैशाख १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

नेपाल धितोपत्र बोर्डले मोदी इनर्जीलाई १०० रुपैयाँ अंकित दरका कुल ७२ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गर्न अनुमति दिएको थियो। कम्पनीले कुल कित्तामध्ये २९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरिसकेको छ। 

कम्पनीले ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ। स्थानीयलाई बाँडफाँडपछि बाँकी रहन गएको २० लाख ९५ हजार ६१० कित्ता र सर्वसाधारणका लागि बाँकी रहेको ३४ लाख ६३ हजार ८१० कित्ता गरी कुल ५५ लाख ५९ हजार ४२० कित्ता सेयर बिक्री खुला गरेको छ। 

सीडीएससीका अनुसार यो आईपीओमा हिजो वैशाख २३ गते साँझसम्म १० लाख ६२ हजार ७६१ आवेदकबाट १ करोड १९ लाख १५ हजार ३१० कित्ताका लागि खरिद आवेदन दिएका छन्। यो मागभन्दा २.१४ गुणाले बढी हो। 

मागभन्दा बढी आवेदन परेका कारण अब यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ५ लाख ५५ हजार ९४२ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट दिन सकिन्छ।

मोदी इनर्जीको आईपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।