काठमाण्डौ । विदेशबाट मोबाइल ल्याउन सरकारले कडाइ गरेको विरोधमा वैदेशिक रोजगारीमा रहेका नेपालीले ‘नो रेमिट्यान्स’ अभियान चलाएका छन्।

सरकारले आजबाट मोबाइल डिभाइस म्यानेमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रुपमा कार्यान्वयनमा ल्याएको छ। योसँगै अब दर्ता नभएका मोबाइल आजबाट सञ्चालनमा नआउने भएको छ। 

मोबाइल सेटको गैरकानुनी आयात, बिक्रीवितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस कार्यान्वयनमा ल्याएको हो। 

उता विदेशबाट आफूसँग भएकोबाहेक थप मोबाइल ल्याउँदा १८ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था पनि भन्सार विभागले गरेको छ। यसअघि यस्तो व्यवस्था गरिएको थिएन। 

यिनै व्यवस्थाविरुद्ध विदेशमा रहेका नेपालीले रेमिट्यान्सबाट पैसा पठाउन रोक्ने भन्दै सामाजिक सञ्जालमा ‘नो रेमिट्यान्स’ अभियान चलाएका हुन्। दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, रुस, यूएई, भारत, पर्चुगललगायतका देशमा रहेका नेपालीले यो अभियानलाई तीव्र पारेका छन्। 

विदेशमा बसेका नेपालीले ‘नो रेमिट्यान्स’ ह्यासट्याग प्रयोग गर्दै विभिन्न स्टाटस राखिरहेका छन्। अर्थतन्त्र थला परेको बेला ‘नो रेमिट्यान्स’ अभियान चलाइएकोमा धेरैजसोले दुःख व्यक्त गरेका छन्। 

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किएका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयनमा नल्याउन अर्थमन्त्री विष्णु पौडेललाई निर्देशन दिएका छन्।