काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले मोरङ र सुनसरी जिल्लाका औद्योगिक करिडोरमा भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि काम भइरहेको बताएको छ। 

प्राधिकरणले त्यस क्षेत्रका औद्योगिक र अन्य ग्राहकहरूलाई भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि प्रसारण तथा वितरणतर्फका चालू लाइनहरूको सुधार गर्ने, नयाँ लाइन बनाउने, सबस्टेसनहरूको क्षमता स्तारोन्नति गर्ने र नयाँ सबस्टेसन निर्माणलाई योजनावद्ध रुपमा अगाडि बढाएको बताएको छ । यो क्षेत्रका उद्योगीहरूले मुख्य रुपमा गर्मीयाममा उद्योगहरूमा पटक–पटक लाइन जाने र आउने (ट्रिपिङ) हुने गरेको गुनासो गर्दै आएका छन्।

यसलाई सम्बोधन गर्न प्राधिकरणले मोरङ र सुनसरी औद्योगिक करिडोरमा विद्युत आपूर्तिका लागि सुनसरीको दुहवीस्थित १३२ केभी ग्रिड सबस्टेसनको भार (लोड) घटाउन पुरानो लाइनहरूको सुधार र थप लाइन तथा सबस्टेसन निर्माण गरिरहेको प्राधिकरणको भनाइ छ। 

केहीअघि सञ्चालनमा आएको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित ४०० केभी क्षमताको इनरुवा सबस्टेसनबाट विद्युत् आपूर्ति दिनका लागि प्रसारण तथा वितरणतर्फका लाइन र सबस्टेसन निर्माणाधीन छन्। 

इनरुवा ४००, २२०, १३२ र ३३ केभी प्रणालीमा आधारित सबस्टेसन भएकाले त्यहाँबाट स्थानीय रुपमा विद्युत् आपूर्ति गर्न सकिनेछ। यसले गर्दा दुहबी सबस्टेसनमा हाल रहेको विद्युत् आपूर्तिको भार घट्नेछ।

अरुण तथा तमोर नदी र सहायक खोलानालामा निर्माण गरिएका र हुने जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत् इनरुवा सवस्टेसनमा जोडिने छ। 

ताप्लेजुङ, पाँचथर, इलाम जिल्लास्थित खोलाहरूमा उत्पादित विद्युत् काबेली करिडोर प्रसारण लाइन हुँदै झापाको दमकमा आउनेछ। यसलेगर्दा त्यसक्षेत्रमा विद्युत् आपूर्तिका लागि स्रोतको अभाव छैन।

सुनसरी र मोरङको विद्युत् आपूर्ति सुधार र १३२ केभीको दुहवी तथा विराटनगर क्षेत्रमा रहेका ३३र११ केभी रानी र टङ्किसिनुवारी सबस्टेसनहरूको भार घटाउन १३२ केभी क्षमताको विराटनगर सबस्टेसन निर्माणाधीन छ। निर्माणाधीन सबस्टेसनसम्म विद्युत पुर्‍याउन इनरुवा सबस्टेसनबाट १३२ केभी प्रसारण लाइन निर्माण भइरहेको छ। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनअघि निर्माणस्थलको अनुगमन गरी आगामी फागुनभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन्। सो समयभित्र निर्माण सम्पन्न गर्न नसकिएमा विद्युत् उपलब्ध भएर पनि आपूर्ति दिन नसकी बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्था आउसक्ने भन्दै यस्तो संवेदनशील आयोजनाको काम समयमा सक्न पनि उनले ठेकेदार कम्पनीलाई भनेका छन् ।
अनुगमनको क्रममा उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानासमेत सहभागी थिए ।इनरुवाबाट पुरानो इनरुवा सबस्टेसम्म हाल रहेको ३३ केभी सर्किटको लाइनमा अर्को सर्किट निर्माणाधीन छ। यसले पनि दुहवी सबस्टेसनको भार घटाउने छ। इनरुवा–दुहवी १३२ केभी डबल सर्किट प्रसारण लाइनको तार फेरेर क्षमता वृद्धिको प्रक्रिया अगाडि बढाइएको छ।

झापा, मोरङ र सुनसरीको विद्युतको माग धान्नका लागि दमकबाट विराटनगर सबस्टेसनसम्म १३२ केभी प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाइएको छ। करिब ६५ किलोमिटर उक्त लाइन दमकबाट मोरङको कानेपोखरी गाउँपालिकास्थित केरौन, सुनसरीको दुहवी हुँदै विराटनगर सबस्टेसनमा जोडिने छ। 

उक्त लाइन निर्माण सम्पन्न भएपछि झापा, मोरङ र सुनसरीमा विद्युत् आपूर्तिका लागि १३२ केभीको रिङ बन्नेछ। जसले विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउने प्राधिकरणले बताएको छ ।