काठमाण्डौ । मोलुङ हाइड्रोपावर कम्पनीले आज पुस १९ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको छ।

कम्पनीले स्थानीयलाई जारी पुँजी ८० करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड २ लाख २५ हजार रुपैयाँबराबरको आईपीओ जारी गरेको छ। जसअनुसार १०० रुपैयाँ अंकित दरमा कुल ८ लाख २ हजार ५०० कित्ता आईपीओ बिक्री खुला गरिएको छ।

यसैगरी कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने २ लाख ७२ हजार ८५० कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ३६ हजार ४२५ कित्ता तथा कर्मचारीका लागि ५४ हजार ५७० कित्ता सेयर बिक्री खुला गरेको छ। 

आयोजना प्रभावित क्षेत्रकाका लागि जारी गरिने कुल कित्तामध्ये ५ प्रतिशत ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिकाका बासिन्दालाई छुट्याइएको छ। बाँकी ५ प्रतिशत सुनकोशी गाउँपालिकाका बासिन्दा र सिद्धिचरण नगरपालिकाका बासिन्दालाई बिक्री गरिनेछ। 

स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले माघ ३ गतेसम्म आवेदन दिन सक्नेछन्। 

स्थानीयले भने छिटोमा माघ ३ गते गतेसम्म आवेदन दिन पाउनेछन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा स्थानीयले भने माघ १८ गतेसम्म बिक्री खुला गरिनेछ। 

स्थानीयले सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक तथा लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ। 

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

मोलुङ हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।