काठमाण्डौ । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले आउँदो फागुन ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। 

कम्पनीले १०० अंकित दरका कुल २७ लाख २८ हजार ५०० कित्ता आईपीओ बिक्री गर्न लागेको हो। कम्पनीले कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ। 

यसैगरी ५ प्रतिशतले हुन आउने १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २२ लाख ६४ हजार ६५५ कित्तामा भने सर्वसाधारण आवेदन दिन पाउनेछन्। 

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा तथा सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्। 

यो आईपीओको निष्कासन बन्द छिटोमा फागुन १० गते र ढिलोमा फागुन १८ गते बैंकिङ समपछि हुनेछ। 

मोलुङ हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।