काठमाण्डौ । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिन आज फागुन १० गते अन्तिम दिन रहेको छ। 

यो कम्पनीले गत फागुन ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडले जनाएको छ।

कम्पनीले १०० अंकित दरका कुल २७ लाख २८ हजार ५०० कित्ता आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ। 

यसैगरी ५ प्रतिशतले हुन आउने १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी २२ लाख ६४ हजार ६५५ कित्तामा भने सर्वसाधारण आवेदन दिन पाउनेछन्। 

सीडीएससीका अनुसार सोमबार साँझसम्म ११ लाख ४४ हजार १२९ आवेदकबाट कुल १ करोड २८ लाख ५९ हजार ५० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा ५.६८ गुणा बढी हो। 

मागभन्दा बढी आवेदन परिसकेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिनेछ। जसमा भाग्यमानी २ लाख २६ हजार ४६५ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये ५ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्। 

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा तथा सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।