काठमाण्डौ । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ भोलि शुक्रबार बाँडफाँड हुने भएको छ। 

काठमाण्डौको कमलपोखरीस्थित बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिने भएको हो। आईपीओ बाँडफाँड कार्यक्रममा बिहान १० बजे राखिएको छ। 

कम्पनीले गत फागुन ४ गतेदेखि फागुन १० गतेसम्म आईपीओ बिक्री गरेको थियो। कम्पनीले १०० अंकित दरका कुल २७ लाख २८ हजार ५०० कित्ता आईपीओ बिक्री गरेको थियो। जसमा १० प्रतिशतले हुन आउने २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरिएको थियो। त्यस्तै ५ प्रतिशतले हुन आउने १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी २२ लाख ६४ हजार ६५५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका छन्। 

सीडीएससीका अनुसार अन्तिम दिनसम्म मोलुङ खोलाको आईपीओमा करिब १५ लाख आवेदकबाट १ करोड ६६ लाख बढी कित्ताका लागि आवेदन दिएका छन्। 

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्राथबाट बाँडफाँड गरिनेछ। गोलाप्राथबाट भाग्यमानी २ लाख २६ हजार ४६५ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये ५ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।