काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ।
बजार आज ६०.८८ अंकले ओरालो लागेको हो। योसँगै २१२१.७५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.९९ अंकले घटेर ४०४.४३ को विन्दुमा झरेको छ। कारोबार रकम ३ अर्ब बढीको भएको छ।
बजार जानकार सरोज भट्टराई राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा लगानीकर्ताले आशा गरेअनुरुप नआउँदा बजारमा गिरावट आएको बताउँछन्। ‘लगानीकर्ताले सेयर धितो कर्जामा १२ करोडको क्याप र जोखिम भार १५० प्रतिशतबाट १०० प्रतिशतमा झर्ने आशा गरेका थिए’, उनले भने, ‘तर मौद्रिक समीक्षामार्फ यी दुवै कुरामा कुनै पनि सम्बोधन भएन।’
यिनै कारणले लगानीकर्ताहरु हतोत्साहित भई बिक्रीचाप बढाउँदा बजारमा गिरावट आएको भट्टराई बताउँछन्। ‘१२ करोडको क्याप हटाउँदा सानालाई भन्दा ठूला लगानीकर्तालाई बढी फाइदा हुने देखिएकोले राष्ट्र बैंकले यसलाई नचलाएको हुन सक्छ’, उनले भने।
तरलता सहज हुँदै गएको र ब्याजदर पनि नबढेकोले बजारमा आत्तिनुपर्ने अवस्था नरहेको भट्टराई बताउँछन्।
सक्रिय लगानीकर्ता निमानन्द कँडेल नयाँ अर्थतन्त्रमन्त्रीले विगतमा लगानीकर्ताहरुलाई दिएको आश्वासन मौद्रिक समीक्षामार्फत पूरा नहुँदा बजारमा गिरावट आएको बताउँछन्। ‘१२ करोडको क्याप र १५० को जोखिम भारको मुद्दा पुरानो भइसकेको छ, यी दुवैलाई राष्ट्र बैंकले नचलाए पनि बजारलाई सकारात्मक बनाउन महत्वपूर्ण भूमिका ब्याजदरको हुने भएकोले अबको केही दिनमै बजार पुनः आफ्नो लयमा फर्किने सम्भावना छ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।
यो दिन वित्त समूह सर्वाधिक ४.७ प्रतिशतले ओरालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह ४.०९ प्रतिशतले घट्दा बैंकिङ समूहमा २.०४ प्रतिशत, विकास बैंक समूहमा ३.६३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.७४ प्रतिशत, जलविद्युत समूहमा ४.०६ प्रतिशत, लगानी समूहमा ३.८९ प्रतिशत, जीवन बीमा समूहमा ३.२४ प्रतिशत, लघुवित्त समूहमा २.१८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.८३ प्रतिशत, निर्जीवन बीमा समूहमा २.५५ प्रतिशत, अन्य समूहमा २.४ प्रतिशत र व्यापार समूहमा १.७५ प्रतिशतले ओरालो लागेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २५३ कम्पनीका ८१ लाख ३९ हजार ८४० कित्ता सेयर ३ अर्ब ४ करोड ७७ लाख ३९ हजार ८१३ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन हिमालयन डिस्टिलरीको १४ करोड ३७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। ङादी ग्रुप पावरको ११ करोड २९ लाख रुपैयाँबराबरको कारोबार भएको आज अपी पावरको ७ करोड ८० लाख रुपैयाँ, अपर तामाकोशीको ७ करोड ७६ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ७ करोड ७१ लाख रुपैयाँ, जोशी हाइड्रोपावरको ५ करोड ६९ लाख रुपैयाँ, एचआईडीसीएलको ५ करोड ५९ लाख रुपैयाँ, शिवम सिमेन्टको ५ करोड ४५ लाख रुपैयाँ, युनिभर्सल पावरको ४ करोड ६८ लाख रुपैयाँ र नेष्डो समृद्ध लघुवित्तको ४ करोड ६४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन खप्तड लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो लघुवित्तको सेयरभाउ ४ प्रतिशत बढीले उकालो लागेको छ।
आज ङादी ग्रुप पावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ७ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago