विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा आएको शिथिलता अहिलेको मूलभूत समस्या भएको बताएका छन्। 

आगामी आर्थिक वर्ष ०८०–०८१ को बजेट एवम राजस्व नीति तर्जुमाका सन्दर्भमा आयोजित कोशी प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले भने, ‘शिथिलता के कारण आयो, निजी क्षेत्र यस विषयमा जानकार छ।’

अर्थतन्त्रको दुईवटा महत्वपूर्ण नीतिगत पाटोमध्ये एउटा मौद्रिक नीति र अर्को वित्तीय नीति रहेको महतले बताए ‘मौद्रिक नीतिको जिम्मेवारी राष्ट्र बैंकलाई दिएको छ। राष्ट्र बैंकलाई स्वतन्त्र रुपमा काम गर्ने अधिकार छ। एउटा परिवेशमा राष्ट्र बैंकले मौद्रिक नीतिलाई कसिकसाउ गरियो। कति कसिकसाउ गर्नुपर्ने पथ्र्यो, कति गर्नुहुँदैन थियो, त्यो अर्को विषय हो’ महतले भने, ‘मलाई लाग्छ, त्यसलाई अहिले खुकुलो गर्न जरुरी छ। यो कुरा मैले राष्ट्र बैंकको नेतृत्वलाई भनेको छु। उहाँले यसलाई गम्भीरताका साथ लिएको र चाँडै एउटा निर्णयमा पुग्ने विश्वास दिलाउनु भएको छ, म पर्खेर बसेको छु।’

ब्याजदरले अवश्य पनि समस्या सिर्जना भएको अर्थमन्त्री महतले बताए। ‘ब्याजदरले बजारमा पूँजी प्रवाह भइरहेको छैन। मौद्रिक नीतिमाफृत् बजारमा पुँजी प्रवाह गर्न जरुरी छ। यसमार्फत् उद्योग व्यवसायलाई मद्दत गर्न जरुरी छ’, उनले भने। 

‘वित्तीय नीतिको नेतृत्व मैले गरिरहेको छु, पुँजीगत खर्चको प्रतिशत न्यून छ। अहिले ३० प्रतिशतको मात्र कुरा आएको छ। यसको प्रभावकारितालाई बढाउन जरुरी छ’, महतले भने, ‘हाम्रो ठेक्का प्रक्रियामा समस्या छ, साइट क्लियरेन्सका कुरा आएको छ, समस्यामा निर्णय नहुँदा उत्पन्न हुने समस्या छ। सबै क्यिलयरेन्स नभइ ठेक्का लाग्यो, अब काम होला भनेर सबैले पर्खेर बसे, काम अगाडि बढ्दैन। साइट क्लियरेन्स नहुँदा यो समस्या आउँछ। वैदेशिक सहयोगमा आएको कतिपय आयोजनालगायत स्वदेशी लगानीका आयोजनासमेत अगाडि बढ्न सकेको छैन। त्यसले गर्दा पुँजीगत खर्चमा समस्या आएको हो।’

अबका आयोजनाहरु यी विषयलाई मध्यनजर राखेर अगाडि बढ्नुपर्ने महतले बताए। ‘वर्षको अन्तिम त्रयमासिकमा मात्रै ठेक्का लगाउन जुरमुराउने परम्परा छ, यसरी हुँदैन। पहिलो दिनबाटै हामीले काम सुरु गर्नुपर्छ भनेर हामीले सबै मन्त्रालयका साथीहरुसँग कुरा गरिरहेका छौँ’, उनले भने।