– प्रकाश न्यौपाने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा यही वैशाखभित्र सार्वजनिक गर्ने तयारी गरिरहेको छ। 

केही दिनअघि काठमाण्डौमा भएको एक कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक समीक्षा वैशाखको अन्त्यसम्म आउने बताएका थिए। उनले अर्थतन्त्रमा सुधार हुँदै गएकोले परिस्थितिअनुसार राष्ट्र बैंकले केही लचिलो नीति ल्याउन सक्ने संकेत पनि गरेका थिए। 

लामो समयदेखि शिथिल बनेको सेयर बजारका लगानीकर्ता मौद्रिक नीतिको समीक्षा प्रतीक्षा गरिरहेका छन्। मौद्रिक नीतिको समीक्षामा केही न केही नीतिगत व्यवस्था फेरबदल हुने र बजारले लय समात्ने आशा लगानीकर्तामा देखिन्छ।

करिब २० महिनाअघि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको केही नीतिगत व्यवस्था सेयर बजार प्रतिकूल देखियो। ३२०० को उच्च विन्दुमा पुगेको बजार त्यसपछि भने लगातार घटेको थियो। अहिले पनि बजार १८७० को आसपास रहेको छ। बजार केही दिनयता सुस्त बनेको छ। यसले पनि लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा बसेको प्रस्ट हुन्छ।

नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार अहिले लगानीकर्ता धेरै पीडामा रहेको बताउँछन्। ‘सेयर बजार ओरालो लागेर न्यून विन्दुमा आउँदा लगानीकर्ताको करिब ७० प्रतिशत सम्पत्ति घटेको छ’, उनले भने, ‘कम्पनीहरुका सेयरमूल्य निकै तल आएका छन्।’

त्यसैले अबको मौद्रिक नीतिको समीक्षामा विगतमा ल्याइएका सेयर बजार प्रतिकूल नीतिहरु अविलम्ब परिमार्जन गर्नुपर्ने रौनियार बताउँछन्। ‘हामीले अर्थमन्त्रीसँगको भेटमा पनि केही नीतिगत व्यवस्थामा परिवर्तन गरी बजारलाई उकास्नुपर्नेमा जोड दिएका छौँ’, उनले भने, ‘सेयर बजारमा सुधार नआएसम्म अन्य क्षेत्र नउक्सिने हुनाले बजारलाई सकारात्मक बनाउन सरकार र राष्ट्र बैंक लाग्नुपर्छ।’

राष्ट्र बैंकले सेयर बजारलाई निरुत्साहित बनाउँदा र लगानीको वैकल्पिक वातावरण पनि नहुँदा विदेशमा रहेका नेपालीले क्रिप्टोकरेन्सीलगायत अन्य क्षेत्रमा लगानी गर्न पुगेको रौनियारले बताए। ‘अझै पनि सरकारले नबुझेमा बजारप्रतिको विश्वास घट्दै जाँदा लगानीयोग्य रकम बाहिरिने डर छ’, उनले भने, ‘अब आउने मौद्रिक नीतिको समीक्षामा विगतमा लगाइएको सबै सीमा हट्नेमा म विश्वस्त छु।’

आगामी आर्थिक वर्षको बजेटमार्फत सेयर बजारमा लिइँदै आएको पुँजीगत लाभकर घटाएर दीर्घकालीन लगानीकर्ताका लागि ३ प्रतिशत र अल्पकालीन लगानीकर्तालाई अधिकतम ५ प्रतिशत कायम गर्नुपर्ने रौनियारले बताए।

बजार जानकार गोविन्दप्रसाद घिमिरे लगानीका हिसाबले अहिलेको सेयर बजारमा कुनै जोखिम नरहेको बताउँछन्। ‘विगतमा कम्पनीका सेयरमूल्य बढेर बुक भ्यालुको पाँचगुणाभन्दा माथि पुगेकाले जोखिम देखेर सेयर धितो कर्जामा १२ करोड रुपैयाँ र जोखिम भार १५० प्रतिशतको सीमा लगाइएको थियो होला’, उनले भने, ‘तर, अहिले कम्पनीका सेयरमूल्य धेरै तल आएकोले अब पनि ती सीमालाई परिमार्जन नगर्नु आमलगानीकर्तालाई घरबासविहीन बनाउनु खोज्नु हो।’ 

अघिल्ला समीक्षामा जस्तो केही होला कि भनेर आशमात्रै गर्ने समय सकिएको घिमिरे बताउँछन्। ‘अब जसरी पनि नीतिगत व्यवस्थामा परिवर्तन हुनैपर्छ’, उनले भने, ‘पहिलेका केही नीतिगत व्यवस्थाकै कारण लगानीकर्ताको मनोबल गिरेको छ। त्यसै लगानीकर्ताको मनोबल उकास्नु जरुरी भइसकेको छ।’