काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले अर्थतन्त्र निकै खराब अवस्थामा नपुगेको दाबी गरेका छन्। उनले जुन गतिमा अर्थतन्त्र बढ्नुपर्ने हो, त्यसरी चाहिँ बढ्न नसकेको पनि बताए।
प्रतिनिधिसभामा प्रि–बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको आज जबाफ दिँदै मन्त्री महतले अर्थतन्त्रमा पछिल्लो समय सुधार हुँदै गएको जानकारी दिए। ‘अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन मौद्रिक नीतिमा कडाइ गर्दा ब्याजदर बढ्यो’, उनले भने, ‘ऋण लिएर लगानी गर्नेहरुको लागत बढ्यो, तिर्न सक्ने क्षमता घट्यो। त्यसबाट बजारमा गतिविधि कम भइरहेको हो।’
अर्कोतिर सरकारी खर्च गर्न नसक्दा पनि अर्थतन्त्रमा केही समस्या देखिएको महतले स्पष्ट पारे। ‘तर, यो सालमात्रै होइन पहिला पनि खर्च गर्न सकेका थिएनौँ’, उनले भने।
सरकारको पुँजीगत खर्च गर्ने क्षमता कम देखिएको पनि महतले स्वीकारे। ‘त्यहाँबाट पुँजी प्रवाह हुन सकेन, अर्थतन्त्रमा सर्कुलेट हुन सकेन र आर्थिक गतिविधि शिथिल देखियो’, उनले भने, ‘त्यही कारण सरकारले चाहेजस्तो आर्थिक वृद्धि भएन।’
अहिलेको आर्थिक अवस्थालाई मध्यनजर राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण हुने पनि अर्थमन्त्री महतले जानकारी दिए। ‘यही वर्षमा सम्पूर्ण कुरा समाधान भएर जान्छ भन्ने कुरा म भन्दिनँ’, उनले भने, ‘तर, हामी यसतर्फ गम्भीर भएर अग्रसर हुन्छौँ, त्यो हाम्रो प्रतिबद्धता हो।’
एकातिर कसिलो मौद्रिक नीति र अर्कोतिर पुँजगत खर्च नहुनुले समस्या भएको महतले बताए। ‘मौद्रिक नीति र वित्त नीतिको तारतम्य मिलाएर एउटै गन्तव्यमा हिँडाएर आर्थिक गतिविधिलाई चलायमान बनाउने छौँ’, उनले भने।
यसका लागि मौद्रिक नीति खुकुलो बनाउने र त्यसले ब्याजदर कम हुने अर्थमन्त्री महतले बताए। ‘ब्याजदर कम हुँदा उद्योग–व्यवसायका लागि ऋण लिन चाहनेहरुलाई सहज हुन्छ’, उनले भने, ‘बिजनेस लागत कम हुन्छ र आर्थिक गतिविधि बढ्छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago