-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा गरेको छ । 

बैंकको ब्याजदर घटाएर सुस्त बनेको अर्थतन्त्र चलायमान बनाउने उद्देश्यले आएको मौद्रिक नीतिले सेयर बजारमा चाहिँ कस्तो प्रभाव पार्ला ? सर्वत्र जिज्ञासा देखिन्छ । 

बजारलाई प्रत्यक्ष रुपमा प्रभाव पारेको भनिएको १२ करोडको सीमा तथा सेयर धितो कर्जामा जोखिम भार जस्ता विषयमा राष्ट्रबैंकबाट लगानीकर्ताहरुले केही राहातको आशा गरेका थिए । तर राष्ट्र बैकले ती विषयमा केही नबोली बैंक रेट एकप्रतिशत विन्दूले घटाई मौद्रिक नीति ल्याएको छ । 

बैंंकर मनोज ज्ञवालीले बैंकदर एकप्रतिशत विन्दूले घटाइएको विषयममा भनेका छन्–‘घटेको बैंक दरले बैंकिङ ब्याज खर्च घट्नेछ । सरकारी ऋणपत्र र सेक्युरिटीहरुको ब्याजदर विस्तारै घट्दै जाने संकेत देखिन्छ । यसले सरकारको ब्याज खर्चमा समेत राहात पुग्ने देखिन्छ । त्यसैगरी बैंकहरुको प्रतिस्पर्धाले स्प्रेड घट्दै जानेछ । आजको समीक्षामा पुनरकर्जा सुविधा उपलब्धताले बैकिङ क्षेत्रको खराब कर्जा बढ्न रोकिने देखिन्छ ।’ 

ज्ञवालीले बजेट आउनुभन्दा अगाडि आएको यो समीक्षा अनपेक्षित रहेको समेत दाबी गरे । तर, आउने म्रौद्रिक नीति भने चुनौतिपूर्ण हुने उनको भनाई छ । 

त्यसैगरी, सेयर बजार जानकार सरोज भट्टराईको विचारमा आजको मौद्रिक समीक्षाप्रति सामाजिक सञ्जालहरुमा दुई खालका प्रतिक्रिया आएका उल्लेख गर्दै आफूले भने सकारात्मक रुपमा लिएको बताए । ‘राष्ट्रबैकले नीतिहरुमा एकैपटक कस्दैन र खुकुलो बनाउँदा पनि एकैपटक बनाउँदैन । केही समयअघिसम्म ब्याजदर बढाउनुपर्छ भन्ने गभर्नरले आज भने ब्याजदर घटाउने गरी नीति ल्याउनु नै बजारका लागि सुखद पक्ष हो ।’

समीक्षाले अबको तीन महिनामा पार्ने प्रभाव हेरेर सबै ठीकठाक रहे आउँदो वर्षको मौद्रिक नीति अझै खुकुलो हुनसक्ने उनको बुझाई छ । 

उनले सेयर लगानीकर्ता अहिलेको अवस्थामा बजारबाट भाग्न नहुने र बरु सकेसम्म लगानी बढाउँदै अगाडि बढनुपर्ने समय आएको दाबी समेत गरे । ‘अब पूँजीबजारमा एनआरएनएहरु पनि आउने कुरा छ । आर्थिक सूचकहरु पनि सकारात्मक बन्दै गएका छन् । ब्याजदर घट्ने त निश्चित नै देखियो । त्यसैले समग्रमा समीक्षा सकारात्मक छ । लगानीकर्ता सकारात्मक बन्नुपर्छ ।’ उनले थपे ।  

यस्तै, बजार जानकार अर्जुन थापाले लगानीकर्ताहरुले मौद्रिक नीतिमा धेरै अपेक्षा नराखेको बताउँछन् । थापा भन्छन्–‘बजार पहिले नै धेरै घटेको छ । आजको म्रौद्रिक नीतिमा लगानीकर्ताले  धेरै अपेक्षा नगरेकोले आगामी साताको बजारमा धेरै ठूलो उत्तारचढाव नहोला । अहिले अन्तर्राष्ट्रिय अवस्था पनि त्यति सहज छैन।’

यदि आगमी दिनमा बैंकहरुको खराब कर्जा बढेमा त्यसको प्रभाव सेयर बजारमा पर्ने उल्लेख गर्दै उनले भने–‘तर आजको म्रौद्रिक नीतिले खराब कर्जा घटाउने देखिन्छ । त्यसकारण आगामी दिनमा बजारमा समान्य प्रभाव पर्ला तर धेरै प्रभाव पर्ने देखिदैन । तर यदि आगामी म्रौद्रिक नीतिमा सहज भएमा बजार २५ सयसम्म पुग्न निकै सहज हुन्छ ।’