काठमाण्डौ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएसँगै आज सेयर बजार भारी अंकले उकालो लागेको छ। 

मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर धितो कर्जाको विद्यमान जोखिम भारमा पुनरावालोकन गर्नेलगायतका विषयका लचिलोपन देखाएसँगै बजारमा हरियाली छाएको हो। आज बैंकिङ सेक्टरमा चमक फर्किएको छ। 

आज बजार ६३.२४ प्रतिशतले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २२२७.१६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १४.४१ अंकले बढेर ४२४.९३ को विन्दुमा उक्लिएको छ। कारोबार रकम सवा ४ अर्ब बढीको भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल मौद्रिक नीतिले लगानीकर्ताको आशा बढाउँदा बजार बढेको बताउँछन्। ‘जोखिम भारमा पुनरावलोकन गर्ने कुरा आएको छ, यो स्वागतयोग्य नै छ’, उनले भने, ‘यसले जोखिम भारमा राष्ट्र बैंकले लचकता अपनाउने संकेत मिलेको छ।’

मौद्रिक नीतिमा सेयर धितो कर्जामा लगाइएको १२ करोड सीमा नहटाइए पनि आगामी समीक्षामार्फत हटाउनेमा आशावादी बन्न सकिने ढकालको भनाइ छ। ‘अहिले अर्थतन्त्रमा सुधार हुँदै गएको छ, तरलता पनि निकै सहज बनेको छ’, उनले भने, ‘त्यसैले अब बजारले लय समात्ने निश्चित छ।’

बजार जानकार सरोज भट्टराई पनि मौद्रिक नीतिबाट अपेक्षा गरेअनुसारकै आएका कारण लगानीकर्ताको मनोबल बढ्दा बजार पनि बढेको बताउँछन्। ‘राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत केही लचिकता अपनाएको छ र पछि पनि थप लचकता अपनाउने आशा गर्न सकिन्छ’, उनले भने, ‘यही कारणले पनि बजार बढेको हो।’

आज कारोबार बढेकोले पनि बजार बढ्न संकेत मिलेको भट्टराई बताउँछन्। ‘घर–जग्गाको कर्जामा राष्ट्र बैंकले लचक अपनाउने देखिएको छ, यसले पुँजीबजारलाई सकारात्मक प्रभाव पार्छ’, उनले भने, ‘अहिले कम्पनीहरुको चौथो त्रैमासको वित्तीय विवरण पनि आउन थालेको र लाभांशको पनि सिजन सुरु हुने भएकोले बजार बढ्ने आशा गर्न सकिन्छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। 

यो दिन बैंकिङ समूह सर्वाधिक ४.९८ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह ४.७८ प्रतिशतले बढ्दा वित्त समूहमा १.७१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.०५ प्रतिशत, जलविद्युत समूहमा १.७० प्रतिशत, लगानी समूहमा ३.४६ प्रतिशत, जीवन बीमा समूहमा १.०३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.५५ प्रतिशत, लघुवित्त समूहमा १.२१ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५५ प्रतिशत, निर्जीवन बीमा समूहमा १.३६ प्रतिशत, अन्य समूहमा १.४३ प्रतिशत र व्यापार समूहमा ४.१० प्रतिशतको बढोत्तरी भएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २६६ कम्पनीका १ करोड २० लाख २ हजार ३०८ कित्ता सेयर ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३३ रुपैयाँमा करोबार भएको छ। 

यो दिन शिवम सिमेन्टको सर्वाधिक १४ करोड ८१ लाख रुपैयाँबराबरको कारोबार भएको छ। ज्योति विकास बैंकको १३ करोड ७७ लाख रुपैयाँ बढीको कारोबार भएको आज ग्लोबल आइएमई बैंकको १२ करोड ३४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ११ करोड १२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ११ करोड ११ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको १० करोड ५४ लाख रुपैयाँ, एभरेस्ट बैंकको ९ करोड ६९ लाख रुपैयाँ, नबिल बैंकको ९ करोड ४१ लाख रुपैयाँ, प्रभु बैंकको ९ करोड १० लाख रुपैयाँ र चन्द्रागिरी हिल्सको ८ करोड ९६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ४ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। किसान लघुवित्त र चन्द्रागिरी हिल्सको सेयरभाउमा १० प्रतिशत तथा लिबर्टी इनर्जी र स्वरोजगार लघुवित्तको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। 

यो दिन ग्लोबल आइएमई बैंक र कालिञ्चोक दर्शनको सेयरभाउ पनि ९ प्रतिशत बढी उकालो लागेको छ। 

आज बिपिडब्लु लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउमा ५ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।