काठमाण्डौ । सेयर बजारमा मंगलबार पनि दोहोरो अंकको गिरावट आएको छ। 

आज बजार ३६.१९ अंकको गिरावट आएको हो। योसँगै नेप्से परिसूचक २१६४.३१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ७.६२ अंकले घटेर ४११.१६ को विन्दुमा ओर्लेको छ। कारोबार रकम २ अर्ब ९१ करोड रुपैयाँ बढीको भएको छ। 

बजार जानकार महेश रिजाल राष्ट्र बैंकका गभर्नरले मौद्रिक नीतिमा झुक्याउँदा बजार घटेको बताउँछन्। ‘पहिला मौद्रिक नीति सार्वजनिक गर्दै सबै प्रकारका लोनको जोखिम भार पुनरावलोकन हुने भनिएको थियो, जसलाई लगानीकर्ताहरुले अब जोखिम भार १०० प्रतिशतमा झर्ने आशा गरे र त्यो दिन बजार बढ्यो’, उनले भने, ‘त्यही दिन दिउँसो ३ बजे राष्ट्र बैंकले गरेको पत्रकार सम्मेलनमा गभर्नरले ५० लाख रुपैयाँसम्मको कर्जामा जोखिम भार १०० प्रतिशत हुने भनेपछि लगानीकर्ताहरु निराश भएको देखिन्छ। सोही कारण हिजो र आज बजार घटेको हो।’ 

हिजोआज घटे पनि बुधबार वा बिहीबारबाट बजार सम्हालिने पनि रिजालको भनाइ छ। ‘किनकि बैंकमा पैसा फालाफल छ, ब्याजदर पनि घटेको छ’, उनले भने।

अर्का बजार जानकार अर्जुन थापा पनि मौद्रिक नीतिमा कर्जाको जोखिम भारको अस्पष्टताले बजार घटेको बताउँछन्। ‘केही दिनको करेक्सनपछि बजार फेरि माथि जान्छ’, उनले भने, ‘किनकि तरलता थुप्रिएको छ, ब्याज पनि घटेको छ।’

अन्य क्षेत्रमा भन्दा अब सेयर बजारमै कर्जा बढ्ने भएकोले बजार माथि नै जाने उनको ठम्याइ छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये एउटा समूहमा मात्रै हरियाली छाएको छ भने अन्य १२ वटामा रातो पोतिएको छ। 

यो दिन होटेल तथा पर्यटन समूह १.२२ प्रतिशतले उकालो लागेको छ।

आज बैंकिङ समूह सर्वाधिक २.७५ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह २.०८ प्रतिशतले घट्दा वित्त समूहमा १.८७ प्रतिशत, जलविद्युत समूहमा १.०९ प्रतिशत, लगानी समूहमा १.३६ प्रतिशत, जीवन बीमा समूहमा १.४५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२२ प्रतिशत, लघुवित्त समूहमा ०.८९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.६६ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.९५ प्रतिशत, अन्य समूहमा १.७२ प्रतिशत र व्यापार समूहमा ०.१२ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २६७ कम्पनीका ७७ लाख १६ हजार २७७ कित्ता सेयर २ अर्ब ९१ करोड ७ लाख ३२ हजार ४१९ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन सोल्टी होटेलको सर्वाधिक १५ करोड २७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको १० करोड ३९ लाख रुपैयाँबराबरको कारोबार भएको आज ग्लोबल आइएमई बैंकको ७ करोड ८२ लाख रुपैयाँ, एभरेस्ट बैंकको ७ करोड ६२ लाख रुपैयाँ, कुमारी बैंकको ७ करोड ४६ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ७ करोड ३५ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ७ करोड रुपैयाँ, एनआईसी एसिया बैंकको ६ करोड ९४ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ६ करोड ५५ लाख रुपैयाँ र नबिल बैंकको ६ करोड ५० लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै गुमाउने र धेरै गुमाउने

यो दिन किसान लघुवित्तका सेयरधनीहरु मालामाल भए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। 

आज बिपिडब्लु लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउमा ५ प्रतिशत बढीको गिरावट आएको छ।