काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार ओरालो लागेको छ। 

बजार आज २९.७१ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २१२६.४८ को विन्दुमा बन्द भएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.२६ अंकले घटेर ४०३.८४ को विन्दुमा झरेको छ। आज करिब साढे २ अर्ब रुपैयाँको हाराहारी भएको छ। 

मौद्रिक नीति सार्वजनिक भएपछिको पछिल्लो ४ कारोबारमा बजार करिब १०० अंकले ओरालो लागेको छ। योसँगै कारोबार पनि सुस्ताएको छ। 

बजार जानकार केशव कोइराला (काका) केही कम्पनीका प्रमोटरले पैसा लैजाँदा बजारमा बिक्री दबाब परेको बताउँछन्। ‘हामीले नै पैसा अरुलाई बुझायौँ’, उनले भने, ‘किनकि हामीले लकिङ पिरियड खुलेका कम्पनीहरुको सेयर किन्यौँ। यो लगानीकर्ताकै गल्ती हो। बजारबाट नयाँ पैसा बाहिरियो। त्यसैले बजारमा बिक्री दबाब परेको हो।’

बजार घटबढ हुनु सामान्य रहेको कोइराला बताउँछन्। ‘हामी अझै बुलिस चरणमै छौँ’, उनले भने, ‘त्यसैले आत्तिहाल्नुपर्ने अवस्था छैन।’

अर्का बजार जानकार सूर्यनारायण पौडेल मौद्रिक नीति सोचेजस्तो नभएको ठूला लगानीकर्ताले प्रचार गर्दा बजारमा बिक्री दबाब परेको बताउँछन्। ‘मौद्रिक नीति आंशिक रुपमा सकारात्मक नै छ’, उनले भने।

बजारको घटाइ क्षणिक रहेको पौडेलको भनाइ छ। ‘अहिले राम्रा कम्पनीको सेयर उठाउने अवसर पनि छ’, उनले भने, ‘हिजोआजको घटाइलाई नाफा बुक रुपमा लिनुपर्छ।’ 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। व्यापार समूह सर्वाधिक २.६५ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह २.२३ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.९९ प्रतिशत, विकास बैंक समूहमा १.१७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.०२ प्रतिशत, जलविद्युत समूहमा १.०९ प्रतिशत, लगानी समूहमा १.२९ प्रतिशत, निजीवन बीमा समूहमा १.८७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.९३ प्रतिशत, लघुवित्त समूहमा १.४८ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.५५ प्रतिशत, निर्जीवन बीमा समूहमा १.२१ प्रतिशत र अन्य समूहमा २.१२ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७१ कम्पनीका ६२ लाख ७१ हजार ७७७ कित्ता सेयर २ अर्ब ४२ करोड ५७ लाख ८० हजार ५६४ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन शिवम सिमेन्टको १० करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन लाइफ इन्स्योरेन्सको ८ करोड ३६ लाख रुपैयाँ, प्रोग्रेसिभ फाइनान्सको ६ करोड ८० लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ६ करोड ११ लाख रुपैयाँ, एभरेस्ट बैंकको ६ करोड ३ लाख रुपैयाँ, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ५ करोड ८० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ५ करोड २२ लाख रुपैयाँ, नबिल बैंकको ५ करोड ३ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको ४ करोड ८८ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको ४ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज मनकामना स्मार्ट लघुवित्त, इमर्जिङ नेपाल र अभियान लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यी कम्पनीको सेयरभाउमा ६ प्रतिशतको हाराहारी बढोत्तरी भएको छ। 

यो दिन किसान लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउमा ९ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।