– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याएपछि सेयर बजार झन्डै १५० अंकले ओरालो लागेको छ। 

मौद्रिक नीतिमा धेरै अपेक्षा नगरिए पनि चाहेजस्तो नआएको स्वयं ठूला सेयर लगानीकर्ताहरु नै बताउँछन्। उद्योगी तथा व्यापारीहरु पनि मौद्रिक नीतिबाट आफूहरु सन्तुष्ट नरहेको बताउँदै आएका छन्। 

लामो समय १८०० देखि २२०० सम्म साइडवेज चलेको बजारमा हाल पुनः करेक्सन आएको देखिन्छ। 

कालिका सेक्युरिटिज (स्टक ब्रोकर नं. ४६) सञ्चालक नरेन्द्र सिजापती अहिले बजार बढ्न नसक्नुमा ३–४ वटा कारण रहेको बताउँछन्। बजार लगानीकर्ताले सोचे जसरी नबढ्नुमा ठूला व्यापारी तथा उद्योगीलाई मौद्रिक नीतिमार्फत कस्ने प्रयास हुनु नै रहेको सिजापतीको भनाइ छ। ‘संसदको एउटा ठूलो पार्टीका नेता पदम गिरीले संसदमै उद्योगी–व्यापारीमाथि छानबिन हुनुपर्छ भनेर बोल्नु र मौद्रक नीतिमा उनीहरुलाई ट्रयाक गर्ने खाले नीति समावेश हुनुजस्ता कारणले सेयर बजार प्रभावित भएको हो’, उनले भने। 

त्यस्तै सुनकाण्डलाई जोडेर सेयर बजारमा अफवाह फैलाउनु र चालु आर्थिक वर्ष सुरुआतदेखि नै सरकारको चालु खाता ऋणात्मक हुनुजस्ता कारणले पनि बजार प्रभावित भएको सिजापती बताउँछन्। ‘आर्थिक वर्षको सुरुदेखि नै आन्तरिक ऋण उठाउनुपर्ने अवस्था आउनुले सरकारको आर्थिक अवस्था राम्रो रहेनछ भन्ने बुझिन्छ’, उनले भने, ‘यसले सेयर बजारमा प्राभावित भएको छ।’ 

भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४) का सञ्चालक राजकुमार तिमिल्सिना पनि मौद्रिक नीतिमा ठूला लगानीकर्तालाई कर्जामा खासै सहज नीति नआउनुले बजारमा असर परेको बताउँछन्। ‘कर्जाको ब्याज दर पनि केही बैंकले पुनः बढाउने  निर्णयले लगानीकर्ताको मनोबल कमजोर भएको छ’, उनले भने। 

बजारमा लगानीकर्ताले सहज रुपमा सेयर लोन नपाउनुजस्ता कारणले ब्रोकरमा पनि पैसा नआएको तिमिल्सिनाको तर्क छ। ‘ब्रोकरमा पैसा नआएपछि बजार दिगो रुपमा बढ्न सक्दैन’, उनले भने।