काठमाण्डौ । मौद्रिक नीतिसम्म ‘पर्ख र हेर’को अवस्थामा लगानीकर्ता बसेका कारण त्यसको प्रभाव सेयर बजारमा पनि देखिएको छ । 

लगानीकर्ताहरु मौद्रिक नीतिको प्रतिक्षामा बस्दा बजारको सुस्त गतिमा सुधार हुन नसकेको हो । 

यो क्रममा मंगलबार नेप्से परिसूचक २.९२ अंकले घटेर १२५०.२७ को विन्दूमा पुग्यो भने अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घट्यो । बजार परिसूचक र कारोबार रकम समानान्तर ढंगले केही दिनसम्म बढ्ने प्रवृति नदेखिएसम्म बजारका लागि सुखद अवस्था मानिदैन । मंगलबार देखिएको बजारको अवस्थाले अधिकांश लगानीकर्ता मौद्रिक नीतिको प्रतिक्षामा रहेको देखिन्छ । मौद्रिक नीतिले ल्याउने बैंकहरुबीचको बिग मर्जरको इस्यू, करमा देखिएको अन्यौल अन्तको व्यवस्था, मर्जरको एमओयू लगत्तै कारोबार रोक्का हुने व्यवस्था खारेजीको संभावना लगायतका विषयमा लगानीकर्ताहरु तीव्र प्रतिक्षारत छन् । मौद्रिक नीतिबाट हुने महत्वपूर्ण व्यवस्थाका कारण बजारको भविष्य समेत प्रभावित हुने भएकोले अहिले नै सेयर खरीद गर्ने पक्षमा लगानीकर्ताको मन नगएको देखिन्छ । 

मंगलबार बलिया र राम्रा कम्पनीमा खरीद चापतर्फ सामान्य बढोत्तरी भएका कारण सेन्सेटिभ इण्डेक्स ०.२७ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.२४ अंकको बढोत्तरी भयो । 

यो दिन चारवटा समूहको उपसूचक घट्यो भने बाँकीको बढ्यो । 

होटल समूह ५.६४ अंकले घटेको यो दिन निर्जीवन बिमा समूहमा ३७.०५ अंक, माइक्रोफाइनान्स समूहमा ०.४१ अंक र म्युचुअल फण्ड समूहमा ०.०१ अंकको गिरावट देखियो । 

बैंकिङ समूह ३.८७ अंकले बढेको यो दिन विकास बैंक समूहमा ४.८१ अंक, जलविद्युत समूहमा ४.२४ अंक, बित्त समूह्मा ४.९४ अंक, उत्पादन तथा प्रशोधन समूहमा ३.०८ अंक, जीवन बिमा समूहमा २४.१२ अंक र अन्य समूहमा १.२६ अंकको बढोत्तरी देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६५ कम्पनीका १६ लाख ७ हजार ६७२ कित्ता सेयर ४६ करोड ८२ लाख ६३ हजार ७७० रुपैयाँमा कारोबार भयो । 

सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको ६ करोड २ लाख बढीको संस्थापक सेयर किनबेच भयो । 

लक्ष्मी बैंकले ४ करोड १३ लाख बढीको कारोबार गरेको यो दिन नेपाल बैंकले २ करोड ६८ लाख, एनआइसी एशियाले १ करोड ८९ लाख, मेगा बैंकले १ करोड ७० लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ६८ लाख, सिभिल बैंकले १ करोड ६४ लाख, प्रभू बैंकले १ करोड ५७ लाख, बोटलर्स नेपाल तराई लिमीटेडले १ करोड ५४ लाख र नवील बैंकले ९३ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन इन्फिनिटी लघुवित्तको सेयरमा पोजिटिभ सर्किट लाग्यो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । 

यस्तै, मल्टिपर्पस फिनान्सका सेयरधनीको सम्पत्ति ८ प्रतिशतले बढ्यो । 

यो दिन सपोर्ट फाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ४.२८ प्रतिशतले घट्यो ।