सधैँजस्तै गत हप्ता पनि शेयर बजारमा बजारको चमक र रौनकमा कुनै कमी आएन । झन्डै साढे सात अर्ब रुपैयाँको कारोबार भएको बजारमा बिमा र माइक्रो फाइनान्समा लगानीकर्ताको आकर्षण रह्यो भने बैंकिङ क्षेत्रले कारोबारलाई टेवा दियो ।

राजधानीको एउटा कार्यक्रममा राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालले पुँजी बजार पनि वित्तीय क्षेत्रमा आधारित हुने हुँदा ‘पुँजी बजारको विकासलाई सहयोग गर्नुपर्ने’ भनेर घुमाउरो तरिकाले आउँदो अर्धवार्षिक समीक्षाबाट शेयर लोनमा केही खुकुल्लो गर्ने छनक दिएका छन् । उता अर्थमन्त्री युवराज खतिवडा पनि शेयर बजारप्रति केही नरम देखिएको बेला गभर्नर नेपालको यो भनाइ पक्कै अर्थ पूर्ण छ ।

लामो समयदेखि शेयर लगानीकर्ताले शेयर मार्जिनको सीमा ८० प्रतिशत हुनुपर्ने माग उठिरहेको बेला आउने अर्धवार्षिक समीक्षाबाट केही हदसम्म सम्बोधन हुने आश गर्न सकिन्छ ।

आउँदो अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले तीनवटा मुख्य काम गर्नु जरुरी छ । पहिलो शेयर मार्जिनको सीमा बढाउने, दोस्रो ब्याजदर घटाउने र तेस्रो लगानीकर्ताले शेयर बेचेपछि ब्रोकरको चेकका आधारमा शेयर फुकुवा हुनुपर्ने। अहिले सबै बैंक तथा वित्तीय संस्थाले ब्रोकरको चेकका आधारमा शेयर फुकुवा गर्न मान्दैनन् । जुन शेयर लगानीकर्ताले भोगेको मुख्य समस्या हो । ब्रोकर पनि धितोपत्र बोर्ड र नेपाल सरकारको अंग भएकोले ब्रोकरको चेकका आधारमा शेयर फुकुवा नहुनु लगानीकर्ता र ब्रोकरलाई गरेको अविश्वास हो । जुन आउने नीतिनियमबाट नै सम्बोधन हुन आवश्यक छ । 

गत हप्ता शेयर बजारलाई अर्को विषय ललिता निवास काण्डले पनि ततायो। देशको मुटु बालुवाटार र बालुवाटारमा पनि राष्ट्र बैंकोको छेउमै विशाल जग्गामा फैलिएको ललिता निवास जोकोहीको पनि आँखामा पर्नु र लोभ लाग्नु स्वभाविकै थियो । आफूमा शक्ति, सामथ्र्य र पैसा भएको बेला त्यही लोभले लाभ र लाभले बिलाप भएको हो, ललिता निवास काण्ड । 

यहाँनेर सबैले बुझेको एउटा यथार्थ कुरा के छ भने अर्बौंका मालिक एनआरएन, भाटभटेनी सुपर मार्केटका मालिकदेखि शक्तिशाली मन्त्री, उच्च ओहोदाका कर्मचारी र बिचौलियासम्म मुछिएको यो काण्ड ललिता निवासको चार आनाको टुक्रा उनीहरुका लागि पण्डितले पूजा गर्दा लिएको  कुशको एक टुक्रामात्र हो । भेटी, दान र दक्षिणाको पोको त अख्तियार र अदालतले न खोल्न सक्ला ? न अर्को जुनीसम्ममा पनि भेट्ला ? किन कि त्यो हुण्डीमार्फत विदेशी बैंकमा गइसकेको छ ।

ललित निवासभित्रका सेता मुसा जोगाएर काल मुसामात्र मार्न खोजिएको यो काण्डमा को दोषी र को निर्दोष भन्ने कुरा आगामी दिनमा आदालत र जनमतबाट फैसला होला तर हामीले अहिले हेर्ने र बुझ्ने भनेको यही विषयले बजारलाई कस्तो असर पर्ला भन्नेमात्र हो ।

आफ्नै बाटो र लयमा चलेको शेयर बजारमा गत हप्ता एउटा समाचार एकाएक फैलियो । अख्तियारबाट आरोपपत्र पेस र ललिता निवासकाण्डमा बैंकहरुको झन्डै ३ अर्ब जोखिममा ! शेयर बजार त्यस्तो क्षेत्र हो जहाँ हरेक समाचारले असर गरिहाल्छ । चाहे त्यो सकारत्मक होस् वा नकारत्मक । 

पहिलो कुरा त लगानीकर्ताले बुझ्नुपर्ने के छ भने यो विषय नयाँ होइन । विगतमा नउठेको होइन । कुनकुन बैंकले कतिकति लोन दिएका छन् भन्ने कुरा राष्ट्र बैंकले बैंकहरुसँग यथार्थ विवरण मागिसकेकोले केही दिनमा यथार्थ विवरण आउला । पहिलो कुरा त यो विषय अदालतले फैसला गर्नै बाँकी छ । दोस्रो कुरा यो विषय निकै पुरानो भएको हुँदा बैंकहरु आफ्नो ठाउँमा सचेत हुन्छन् नै । 

लोन दिँदा नै बैंकहरुले राखेको धितोले नपुग भएमा निजको अन्य जायजेथा र पुर्खौली सम्पत्तिबाट आसुल गरिने र त्यसबाट पनि नपुग भएमा जमानत बस्नेको जायजेथा र पुर्खौली सम्पत्तिबाट समेत असुल उपर गरिने गरी कागजात बनाइएको हुँदा र यो देशभित्रकै मामिला भएको हुँदा सर्वसाधारणको निक्षेप र लगानी तत्काल जोखिममा परिहाल्ने देखिन्न । भलै केही गरी लोन जोखिममा परिहलेमा पनि यो एउटामात्र बैंकको होइन । बैंकहरुले इन्सुरेन्स पनि गरेका हुन सक्छन् । विगतमा पनि यो काण्ड आउँदा शेयर बजारमा एक दिनमात्र असर गरेको थियो र अहिले पनि त्यही नै हो । 

शेयर बजारका बादशाह वारेन बफेटले भनेका छन्– ‘बजार हल्लासँगै यताउता हल्लिने मानिस कहिलै वास्तविक धनी बन्न सक्दैन ।’ 

सेयर बजारमा जहिले पनि हल्लाको खेती हुन्छ । यो नेपालको बजारमा मात्र होइन संसारमा नै यस्तै हो । त्यसैले लगानीकर्ता जहिले होसियार हुन आवश्यक छ । 

शेयर बजारसँग जानकार सबैजसो प्राविधिक तथा आधारभूत विश्लेषकहरुले शेयर बजारको अहिलेको ट्रेन्ड बुलिस नै भएको र बजारले बनाएको हरेक तल्लो विन्दु किन्ने अवसर बताइराखेका बेला नयाँ तथा साना लगानीकर्ता अहिले एक÷दुई दिनको घटबढबाट हतास हुनुपर्ने कारण देखिँदैन । शेयर बजारको बाटो सधैँ बाङ्गोटिङ्गो हुन्छ । त्यसैले बजारको बाटो र गति बुझेर आफ्नो पोर्टफोलियो व्यवस्थापन गर्न सकिन्छ ।

के हो पोर्टफोलियो व्यवस्थापन भनेको ?

मानिसमा जहिले पनि सीमित साधन र असीमित आवश्यकता हुन्छ । त्यही सीमित साधनलाई सही सदुपयोग गर्नु नै पोर्टफोलियो अथवा नगद व्यवस्थापन हो । 

अझ प्रस्ट रुपमा भन्नुपर्दा तपाइँसँग भएको पैसालाई विभिन्न पकेटमा बाँडेर सुरक्षित रुपमा राख्नु नै पोर्टफोलियो व्यवस्थापन हो । शेयर बजारमा पोर्टफोलियो व्यवस्थापन भनेको कुनै एउटा लगानीकर्तासँग भएको नगदलाई विभिन्न लगानीका क्षेत्रमा लगानीको अनुपात मिलाएर पैसालाई काममा लागाउनु नै पोर्टफोलियो व्यवस्थापन हो । जस्तो तपाइँसँग १० लाख रुपैयाँ छ भने त्यसलाई ३० प्रतिशत बैंकिङ क्षेत्र, २० प्रतिशत इन्स्योरेन्स, २० प्रतिशत माइक्रो फाइनान्स, २० प्रतिशत जलविद्युत् र बाँकीलाई अन्य क्षेत्रमा लगानी गर्नु कम जोखिम हुन्छ  । यसले के हुन्छ भने जोखिम न्यूनीकरण को काम गर्छ । 

कुनै एक क्षेत्रमा घाटा भएमा पनि अर्को क्षेत्रबाट नाफा हुने हुँदा लगानी कर्तालाई ठूलो क्षति हुँदैन । प्रायःजसो म्युचुलफन्डहरुले पोर्टफोलियो व्यवस्थापनअन्तर्गत सबै क्षेत्रमा लगानी गरेका हुन्छन् । खासगरी यो व्यवस्था दिर्घकालीन लगानी गर्ने लगानीकर्ताका लागि बढी उपयुक्त हुन्छ ।