काठमाण्डौ । साताको धितोपत्र कारोबार हुने पहिलो दिन आइतबार बजारमा दोहोरो अंकको करेक्सन आएको छ।
आज नेप्से परिसूचकमा ३३.३३ अंकको करेक्सन आएको छ। जसले गर्दा परिसूचक घटेर २४९३.५९ को विन्दुमा झरेको छ।
त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ९.३१ अंकले ओरालो लागेर ४५४.१२ को विन्दुमा सीमित बनेका छ। आज कारोबार रकमसमेत घटेर झन्डै ७ अर्बको हाराहारीमा भएको छ।
बजार जानकार गोविन्दप्रसाद घिमिरे बजारले खोजेअनुसार नै करेक्सन आएको बताउँछन्। ‘प्राविधिक तथा आधारभूत अनि मनोवैज्ञानिक हिसाबले बजार २६०० को विन्दुआसपास पुगेपछि करेक्सन आउनुपर्ने नै थियो, आज आयो’, उनले भने, ‘अझै १–२ दिन करेक्सन आउन सक्छ।’
बजारमा आउने करेक्सनमा कमाउन अवसर सिर्जना हुने पनि घिमिरे बताउँछन्। ‘यस्तो बेला बुझेर राम्रा र सस्ता कम्पनीको सेयर उठाउँदा उचित हुन्छ’, उनले भने।
राष्ट्र बैंकले गर्न लागेको मौद्रिक नीति अर्धवार्षिक समीक्षामा सेयर कर्जाको सीमा घटाउन लागेको भन्दै बजारमा चलेको हल्लाले पनि ठूला लगानीकर्ताहरु पर्ख र हेरको स्थितमा रहेको घिमिरेले बताए। ‘तर बैंक ब्याजदर घटेकै अवस्था छ, त्यसैले अहिले मौद्रिक नीतिले बजारलाई प्रभाव पार्ने गरी सेयर धिर्ता कर्जाको सीमा घट्लाजस्तो लाग्दैन’, उनले भने।
काठमाण्डौको सरस्वती क्याम्पसको एमबीएम संकायका निर्देशक केपी पाण्डे बजार अझै बढ्नेमा दुईमत नरहेको बताउँछन्। ‘त्यसैले आजको करेक्सनलाई स्वाभाविक रुपमै लिनुपर्छ’, उनले भने, ‘किनकि बजार बढ्नेमात्र होइन बेलाबेलामा घट्नु पनि पर्छ।’
यस्तो बेला लगानीकर्ताृहरुले जिरो इन्भेस्टमेन्ट रणनीति अपनाउनुपर्ने पाण्डेको सुझाव छ। ‘सुरक्षित लगानी गरेर जोखिम व्यवस्थापन गर्दै बजारमा लगानी गर्नुपर्छ भन्ने आमलगानीकर्ताहरुलाई सुझाव छ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये एउटामात्र बाहेक सबैमा रातो पोतिएको छ। यो दिन म्युचुअल फन्ड समूहमात्र ०.१३ अंकले उकालो लागेको छ।
यो दिन जीवन बीमा समूह सर्वाधिक २३३.१८ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह ७७.३५ अंकले घटेको आज बैंकिङ समूहमा २०.७१ अंक, व्यापार समूहमा २३.७६ अंक, होटेल्स् समूहमा २५.७२ अंक, विकास बैंक समूहमा १०.७ अंक, जलविद्युत् समूहमा २३.०५ अंक, वित्त समूहमा ११.१८ अंक, निर्जीवन बीमा समूहमा ७७.३५ अंक, उत्पादन तथा प्रशोधन समूहमा ४४.६७ अंक, अन्य समूहमा ४५.२९ अंक र लघुवित्त समूहमा ७८.६ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनी
आज नेप्सेमा सूचीकृतमध्ये २०२ कम्पनीका १ करोड ४८ लाख ५१ हजार ५९२ कित्ता सेयर ६ अर्ब ९२ करोड ७६ लाख ६८ हजार ९३१ रुपैयाँमा कारोबार भएका छन्।
यो दिन नेको इन्सुरेन्सको सर्वाधिक ५२ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल बैंकको ३६ करोड ६० लाख रुपैयाँ बढीको कारोबार भएको आज नेपाल टेलिकमको २३ करोड १२ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २२ करोड ९९ लाख रुपैयाँ, नबिल बैंकको २० करोड ५५ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको १९ करोड २९ लाख रुपैयाँ, डिप्रोक्स लघुवित्तको १७ करोड २५ लाख रुपैयाँ, नेपाल लाइफको १७ करोड ५ लाख रुपैयाँ, प्रभु बैंकको १६ करोड ६५ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको १५ करोड २१ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आजैबाट धितोपत्र दोस्रो बजारमा कारोबार आएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) का सेयरधनीहरुले धेरै कमाए। यो बैंकको सेयरमूल्यमा १० प्रतिशत उछाल आएर पोजेटिभ सर्किट नै लागेको छ।
यो दिन सपोर्ट र स्वाभिमान लघुवित्त सेयरधनीहरुले धेरै गुमाए। यी दुवै लघुवित्तको सेयरमूल्यमा ९ प्रतिशत बढीको गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago