काठमाण्डौ । हिजो दोहोरो अंकको करेक्सन आएको बजारमा आज सोमबार उछाल आएको छ।
आज परिसूचक ९२.४२ अंकले बढेर २५८६.०१ को उचाइमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १५.३३ अंकले बढेर ४६९.४४ को विन्दुमा उक्लिएको छ।
आज धितोपत्र कारोबार पनि झन्ड साढे १० अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
बजार जानकारी प्रेम ओलीले राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा सेयर धितो कर्जाको सीमा यथावत राखेकै कारण आज बजारमा उछाल आएको बताए। ‘सेयर धितो कर्जाको सीमा घट्छ भन्ने भ्रम हिजो समीक्षा कार्यक्रमले तोडेको, यसले आमलगानीकर्ताको मनोबल बढेको छ’, उनले भने।
यसअघिको करेक्सनहरुले बजारलाई थप मजबुत पारेको तर्क पनि ओलीको छ। ‘बजार अब ३००० विन्दुको बाटो लिएको छ’, उनले भने, ‘अब अन्य सेक्टरले बजारलाई २८०० को विन्दुमा पर्याउँछ र ३००० को विन्दु भने बैंककै कारण पुग्नेछ।’
ओलीका अनुसार अब विस्तार बैंकहरुमा लगानी बढ्न सक्छ। ‘यतिबेला राम्रा र सस्ता बैंकहरुमा पैसा खन्याउँदा भविष्यमा राम्रो प्रतिफल आउन सक्छ’, उनले भने।
बढ्दो बजारमा बीचबीचमा करेक्सन आउनैपर्ने ओलीको भनाइ छ। ‘बजार बढ्दै जाँदा बीचबीचमा करेक्सन आउने हो भने बुलिस ट्रेन्ड लामो समयसम्म रहन्छ’, उनले भने।
अब जलविद्युत् समूहमा पनि चमक आउने ओलीले बताए। ‘किनकि ब्याजदर घटेर जलविद्युत् कम्पनीहरुलाई निकै राहात भएको छ’, उनले भने।
ओलीले अहिलेको अवस्था सेयर होल्ड गरेर राख्दा भविष्यमा फाइदैफाइदा हुने बताए। ‘अहिले तत्काल बजारबाट बाहिरिनुपर्ने अवस्था छैन’, उनले भने, ‘अझै २–३ वर्ष बजार बुलिस ट्रेन्डमै रहन्छ। प्रतिफल पनि राम्रै प्राप्त हुन्छ।’
सक्रिय लगानीकर्ता प्रकाश न्यौपाने कारोबार रकमलाई हेर्दा बजार तल झर्ने सम्भावना निकै कम रहेको बताउँछन्। ‘पहिलेपहिले ३ अर्बको कारोबार हुन्थ्यो, अहिले १० अर्ब बढी कारोबार हुन थालिसकेको छ’, उनले भने, ‘यसको मतलब बजारमा ठूलो परिमाणमा लगानी भित्रिरहेको छ, जसले बजार बढ्न निकै टेवा दिन्छ।’
यदि अब ३ वर्षसम्म बुलिस ट्रेन्ड रहने हो भने बजार ५००० विन्दुसम्म पुग्ने न्यौपानेको अनुमान छ। बुलिस बजारमा करेक्सन आउनैपर्ने र हरेक करेक्सनमा खरिदको अवसर हुने पनि उनको भनाइ छ।
आज नेप्से उपसमूहमा रहेका १२ वटै समूहमा हरियाली छाएको छ।
यो दिन जीवन बीमा सर्वाधिक ६९७.९१ अंकले उकालो लागेको छ। निर्जीवन बीमा समूह ४४७.४४ अंकले बढेको आज बैंकिङ समूहमा ५७.३२ अंक, व्यापार समूहमा ७१.६ अंक, होटेल्स् समूहमा २४.१ अंक, विकास बैंक समूहमा ४९.९१ अंक, जलविद्युत् समूहमा ६४.४५ अंक, वित्त समूहमा ३४.७५ अंक, उत्पादन तथा प्रशोधन समूहमा १५९.६६ अंक, अन्य समूहमा ६२.६१ अंक, लघुवित्त समूहमा ३७०.३ अंक र म्युचुअल फन्ड समूहमा ०.१८ अंकको बढोत्तरी भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २०५ कम्पनीका २ करोड २४ लाख ४७ हजार १५७ कित्ता सेयर १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार ६६९ रुपैयाँमा कारोबार भएका छन्।
यो दिन निर्धन उत्थान लघुवित्तको सर्वाधिक ७० करोड ४८ रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ६८ करोड ५ लाख रुपैयाँ बढीको कारोबार भएको आज छिमेक लघुवित्तको ४७ करोड ९१ लाख रुपैयाँ, डिप्रोक्स लघुवित्तको ४७ करोड ४४ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको ४६ करोड ९० लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ४० करोड ६९ लाख रुपैयाँ, नेको इन्सुरेन्सको ३४ करोड ७४ लाख रुपैयाँ, नेपाल बैंकको २८ करोड ९९ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २४ करोड ८९ लाख रुपैयाँ र एसियन लाइफ इन्स्योरेन्सको २१ करोड २३ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ३३ लघुवित्तसहित ३५ वटा कम्पनीका सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ।
यो दिन छिमेक, ग्रामीण विकास, मिथिला, किसान, एनएमबी, आरएडीसी, फरवार्ड, उन्नति सहकार्य, सामुदायिक, आशा र स्वाभिमान लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतले वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ।
त्यस्तै विजय, डिप्रोक्स, ग्लोबल आईएमई, मेरो, सारथी नेपाल, समिट, स्वावलम्बन, आरम्भ चौतारी, गुराँस, सबैको, स्वरोजगार, लक्ष्मी, सूर्योदय, महुली, सपोर्ट, मिर्मिरे, इन्फिनिटी, गणपति, निर्धन उत्थान, फस्ट, नेरुडे र सिभिल लघुवित्तको सेयरमूल्य पनि १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ। यो दिन निफ्रा र हिमालयन ऊर्जा विकासको सेयरमूल्य पनि १० प्रतिशतको हाराहारीमा र एसियन लाइफ र रिडी हाइड्रोपावरको सेयरमूल्यमा ९ प्रतिशत बढीको बढोत्तरी भएको छ।
आज पञ्चकन्या माई हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ४ प्रतिशत बढीको गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago