– अनन्त्य सुन्दर

काठमाण्डौ । असार लागेयता सेयर बजार ओरालो लागेको थियो। असारको अन्तिम साताबाट भने बजार पुनः उकालो लाग्न थालेको छ। 

राजनीतिक घटनाक्रम र मौद्रिक नीतिलाई लिएर विभिन्न हल्ला फैलाउँदा बजारमा प्रभावित बनेको थियो । तर सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएसँगै बजार पुनः लयमा फर्किएको छ। यसबीच देउवाले आफ्नो सानो मन्त्रिमण्डलमा ऊर्जा मन्त्रालयको जिम्मेवार सम्हाल्दा चर्चा बटुलेका जनार्दन शर्मालाई अर्थमन्त्री नियुक्त गर्नु र शर्माले सेयर बजारप्रति सरकार सकारात्मक भएको सन्देश दिनुले आमलगानीकर्ता उत्साहित बनेका छन्।

यद्यपि बजारमा अझै पनि मौद्रिक नीतिको प्रतीक्षामा ठूला र संस्थागत लगानीकर्ता रहेका देखिन्छन्। मौद्रिक नीति आउन भने अझै केही दिन लाग्न सक्ने अर्थमन्त्री शर्मा स्वयंले जानकारी गराइसकेका छन्। उनले त्यसअघि मुलुकको अर्थतन्त्र झल्किने गरी श्वेतपत्र जारी गर्ने उद्घोष गरिसकेका छन्।

सेयर बजारका अधिकांश सक्रिय लगानीकर्तालाई मौद्रिक नीति बजारको हितमा नआउने भएकाले बजार घटेको भन्ने बुझाइ थियो। तर फेरि पछिल्ला कारोबारहरुमा बजार बढ्यो। बजार बढ्न थालेपछि लगानीकर्ता हौसिएका छन्। 

बजार बढ्न थालेपछि लगानीकर्ताहरु मौद्रिक नीति बजारको हितमा नै आउनेमा ढुक्क देखिन्छन्। ‘घट्दो बजार केही दिनदेखि बढ्न सुरु गरेकाले मौद्रिक नीति बजारको हितमा आउन सक्ने संकेत मिलेको छ’, सेयर बजारका लगानीकर्ता मिलन चिमरियाले भने, ‘सेयर धितो कर्जाको सीमाले बजारलाई असर गर्छ नै तर मेरो विचारमा नीति बजारको हितमा नै आउँछ।’ 

सेयर बजारमा लगानी गर्दै गरेका लगानीकर्ता विवेक कडरियाका अनुसार पछिल्लो मौद्रिक नीति पनि बजारको हितमा आएको थियो। आउने मौद्रिक नीति पनि बजारको हितमा नै आउनेमा उनी विश्वस्त छन्। ‘मौद्रिक नीतिपछि बैंकको मूल्यमा ठूलो उछाल आउनुका साथै नेप्से र कारोबारले पनि नयाँ उचाइ छुनेछ’, उनी भन्छन्। 

बजारका सक्रिय युवा लगानीकर्ता शिव घिमिरे लगानीकर्ताहरु मौद्रिक नीति कस्तो आउला भनेर नडराउनु पर्ने बताउँछन्। घिमिरे भन्छन्, ‘सरकारको राजस्वको प्रमुख स्रोत अहिले पुँजीगत लाभ कर हो। त्यसैले पनि मौद्रिक नीतिले बजारमा त्यति असर नगर्ने देख्छु।’ 

‘मौद्रिक नीतिले सेयर धितो कर्जाको सीमा ५–१० प्रतिशतले घट्ला तर त्यसले दीर्घकालीन लगानी गर्ने लगानीकर्तालाई खासै असर भने गर्दैन’, घिमिरे भन्छन्, ‘चुनाव पनि नजिकिँदै छ। त्यसैले पनि बजारलाई ठूलो हानी गर्ने किसिमको नीति नआउला।’ फन्डामेन्टली राम्रा कम्पनीहरुमा लगानी गर्ने लगानीकर्ताहरु मौद्रिक नीति कस्तो आउँछ? भनेर नडराउन उनको सुझाव छ।

बजारका सक्रिय युवा लगानीकर्ता क्षितिज मल्लका अनुसार राष्ट्र बैंकले मौद्रिक नीति अर्थतन्त्रमा मुद्रास्फीति, तरलता निर्धारण गर्न ल्याउने कुरा लगानीकर्ताले बुझ्न आवश्यक रहेको बताउँछन्। ‘तर अहिले बजारमा ठूला भनिने लगानीकर्ताहरुले मौद्रिक नीतिलाई बजारमा उत्तरचढाव ल्याउने औजारका रुपमा प्रयोग गर्दै आएका छन्’, उनले भने, ‘त्यसैले नयाँ लगानीकर्ताले मौद्रिक नीति बजारभन्दा पनि अर्थतन्त्रको सुधारका लागि ल्याउने ‘टुल’ हो भनेर बुझ्न आवश्यक छ।’

पछिल्लो मौद्रिक नीति आउने बेलामा नेप्से इन्डेक्स १४०० को विन्दुमा रहेको स्मरण गराउँदै मल्ल भन्छन्, ‘अहिले झन्डै २८०० विन्दुमा छ। त्यसैले राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमामा केही प्रतिशत कडाइ भने गर्न सक्छ। तर लगानीकर्ताले त्यसले बजारमा ठुलो नै पहिरो आउँछ भनेर डराउनु पर्दैन।’

इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बढ्दो बजारलाई कुनै पनि शक्तिले नरोक्ने बताउँछन्। ‘पछिल्लो समय बजारमा सेबोनको ५१ वटा कम्पनीको विज्ञप्ति, प्राविधिक विश्लेषकहरुको बजार ३० प्रतिशतले घट्ने विश्लेषण, राजनीतिक अस्थिरताले बजारमा लगानीकर्ताहरुमा केही त्रास थियो’, रौनियार भन्छन्, ‘तर अहिले बजार फेरि आफ्नो लयमा आएको छ। अब बजारको बढ्ने क्रमलाई कुनै पनि नीतिले रोक्न सक्दैन।’ 

केही दिनअघि विभिन्न पुँजी बजार संघसंगठनका प्रतिनिधि र नेपाल राष्ट्र बैंकका पदाधिकारीसँग मौद्रिक नीतिबारे छलफल भएको रौनियारले जानकारी दिए। ‘छलफलबाट नेपाल राष्ट्र बैंक सेयर बजारप्रति सकारात्मक रहेको निष्कर्ष पनि आएको छ’, उनले भने, ‘सेयर बजार समग्र अर्थतन्त्रको मेरुदण्ड भएकाले लगानीकर्तालाई अहिले दिँदै आएको सेवासुविधा साथै सेयर धितो कर्जाको सीमामा असर नगर्ने किसिमको नीति ल्याउनेसमेत सुझाव हामीले दिएको छौँ।’