– अर्जुन तिमिल्सिना

काठमाण्डौ । लामो समयपछिको बहुप्रतिक्षित चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक भएको छ। 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गर्दै देशमा कोभिडको प्रभाव यथावत रहेकोले पर्यटनलगायत लघुउद्यमा सहुलियत यथावत राखेको छ। सेयर धितो कर्जाको सीमा यथावत राखेको छ भने एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट ४ करोड रुपैयाँसम्म र समग्र वित्तीय प्रणालीबाट जम्मा १२ करोड रुपैयाासम्म सेयर धितो कर्जा लिन सक्ने व्यवस्था मौद्रिक नीतिले गरेको छ। 

बैंकहरुमा तरलताको अवस्था भने सहज हुने देखिएको छ। हालको सीसीडी रेसियो ८५ बाट बढाएर ९० प्रतिशत हुने व्यवस्थाले तरलता झनै सहज हुनेछ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्टले मौद्रिक नीति सेयर बजारअनुकूल नै आएको बताउँछन्। ‘मौद्रिक नीति साना लगानीकर्तालाई प्रोत्साहन गरेको देखिएको छ, जुन बजारका लाागि सकारात्मक नै हो’, उनले भने। 

सीडीसी रेसियो ९० प्रतिशत बनाउनु, बैंकहरुलाई मर्जरमा जान प्रोत्साहित गर्ने उद्देश्यले विभिन्न छुट र सहुलियतसहित प्याकेज सार्वजनिक गरिनुलाई सकारात्मक नै लिनुपर्ने बिष्टको भनाइ छ। 

बजार जानकार मुक्तिबहादुर खत्री पनि मौद्रिक नीति बजारअनुकूल नै आएको बताउँछन्। १२ करोड रुपैयाँसम्मको सेयर धितो कर्जा ठिकै रहेको उल्लेख गर्दै खत्रीले भने, ‘यसले बजारमा सट्टेबाजी हुनबाट रोक्छ, सेयर कर्नरिङ पनि रोकिन्छ। यसले सेयर बजार थप सकारात्मक बन्छ।’

सीसीडी रेसियो बढाउनु पनि उपयुक्त रहेको खत्रीले बताए। ‘यो तरलता व्यवस्थापनका लागि गरिएको हो’, उनले भने, ‘बैंकहरुले नाफाका लागि बढी लगानी गर्न मिल्यो, यो राम्रै हो।’

मौद्रिक नीति समग्रमा राम्रै आएको खत्रीले बताए।