काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको प्रभाव सेयर बजारमा नकारात्मक परेको छ। यही कारण धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ।
प्रथम त्रैमासिक समीक्षामा लगानीकर्ताहरुले सेयर धितो कर्जाको सीमा ४–१२ को क्याप र सीडी रेसियोमा परिमार्जनको अपेक्षा गरेका थिए। तर, यी दुवै कुरामा परिमार्जन नहुँदा लगानीकर्ताको मनोबल गिर्दा बजारमा भारी गिरावट आएको विश्लेषकहरुको भनाइ छ।
आज बजार ८०.२९ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २६५१.४९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १४.१९ अंकले घटेर ५०१.४५ को विन्दुमा झरेको छ। आज कारोबार रकम पौने ६ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार प्रकाश रजौरे आजको घटाइ मौद्रिक नीतिको समीक्षा आशा गरेअनुसार नआउनुको परिणाम रहेको बताउँछन्। ‘आज कारोबार भने राम्रो भएको छ, यसले गर्दा बजारमा केही आशा गर्ने ठाउँ छ’, उनले भने, ‘सधैं बजार यसरी घट्दैन, केही दिन करेक्सन होला, त्यसपछि बजार फर्किन सक्छ।’
हाल मौद्रिक नीतिमा गरिएका व्यवस्थाहरुलाई अब बजारले सहज रुपमा लिने पनि रजौरेको भनाइ छ। ‘मुख्य समस्या तरलताको हो, तरलता सहज हुँदै जाँदा बजारको महौल पनि सकारात्मक बन्दै जान्छ।’
सक्रिय लगानीकर्ता निमानन्द कँडेल लगानीकर्ताको सेन्टिमेन्ट नेगेटिभ भएका कारण बजार आज घटेको बताउँछन्। ‘धेरै लगानीकर्ताले मौद्रिक नीतिमा ४–१२ को क्याप र सीडी रेसियोमा संशोधन होला भन्ने आशा गरेका थिए, त्यसो नभएर पनि आज बजार प्रभावित बन्न पुग्यो’, उनले भने।
लाभांशको सिजन भएकोले बजार सकारात्मक नै हुने आशा गर्ने ठाउँ रहेको कँडेल बताउँछन्। ‘अब केही दिन बजार साइडवेजमा जान सक्ने देखिन्छ’, उनले भने।
नयाँ लगानीकर्ताहरु सक्रिय नै रहेकोले पहिलोजस्तो बजार धेरै तल नजाने उनको भबुझाइ छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।
यो दिन व्यापार समूह सर्वाधिक ५.३७ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह ५.११ प्रतिशतले घटेको आज बैंकिङ समूहमा १.९३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ४.३२ प्रतिशत, जलविद्युत समूहमा ४.२१ प्रतिशत, वित्त समूहमा २.६६ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.१८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ३ प्रतिशत, अन्य समूहमा ३.१६ प्रतिशत, लघुवित्त समूहमा २.६५ प्रतिशत, जीवन बीमा समूहमा ३.६६ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.४३ प्रतिशत र लगानी समूहमा ३.३९ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनी
आज नेप्सेमा सूचीकृतमध्ये २३४ कम्पनीका १ करोड १९ लाख ३ हजार २०२ कित्ता सेयर ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन महालक्ष्मी विकास बैंकको सर्वाधिक २९ करोड ८१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको २३ करोड ४८ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेसनल हाइड्रोको २२ करोड ८५ लाख रुपैयाँ, नेपाल टेलिकमको १९ करोड ४ लाख रुपैयाँ, निर्धन उत्थान लघुवित्तको १६ करोड २० लाख रुपैयाँ, अपी पावरको १५ करोड ८५ लाख रुपैयाँ, नबिल बैंकको १३ करोड ५ लाख रुपैयाँ, अप्पर तामाकोशीको १२ करोड ६२ लाख रुपैयाँ, एचआईडीसीएलको १२ करोड ५४ लाख रुपैयाँ र अरुण काबेली पावरको १२ करोड ११ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज आईसीएफसी फाइनान्सका सेयरधनीहरु मालामाल भए। यो फाइनान्सको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।
यो दिन हिमालयन पावर पाटर्नर र मानुषी लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ८ प्रतिशत बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago