– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिका लागि विभिन्न सरोकारवालासँग राय तथा सुझाव मागेको छ। आगामी मौद्रिक नीतिले सेयर बजारलाई कसरी सम्बोधन गर्छ भन्ने आमलगानीकर्ताको चासोको विषय बनेको छ।

निरन्तर घट्दो क्रममा रहेको सेयर बजारमा मौद्रिक नीतिले केही राहत दिने लगानीकर्तामा अपेक्षा देखिन्छ। अहिले अधिकांश लगानीकर्ता बजारमा लगानी गर्नेभन्दा पनि मौद्रिक नीतिको पर्खाइमा छन्। लगानीकर्ता राष्ट्र बैंकले लगाएको सेयर धितो कर्जाको ४–१२ को क्याप परिमार्जन हुनेमा आशावादी देखिन्छन्।

आव २०७९/८० को मौद्रिक नीतिमा लगानीकर्ताको अपेक्षा के रहेको छ ? मौद्रिक नीतिमा कस्ता विषय समेटिनुपर्छ ? कस्ता व्यवस्था परिमार्जन हुनुपर्छ ? लगायतका जिज्ञासा बजार जानकार तथा बजारका अगुवा लगानीकर्तासमक्ष राखेका छौँ।

नेपाल पुँजीबजार विकास अभियानका संयोजक तिलक कोइराला राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत स्थिर नीति ल्याउन आवश्यक रहेको बताउँछन्। ‘व्यवसायी, लगानीकर्तालगायत सबैलाई राहत हुने किसिमको नीति ल्याउनुपर्छ’, कोइराला भन्छन्, ‘राष्ट्रबैंकले नीति अवलम्बन गर्दा नीतिगत स्थिरता भने महत्वपूर्ण हुन्छ।’

अहिले ४–१२ को क्यापले लगानीकर्ता मर्कामा परेको कोइराला बताउँछन्। ‘ठूला ऋणीहरुले कर्जा अहिले पनि तिर्न नसक्ने अवस्था छ’, उनले भने, ‘त्यसैले त्यस्ता ऋणीलाई समय थप्नेजस्ता सहुलियत मौद्रिक नीतिमार्फत प्रदान गरी केही राहत दिन आवश्यक छ।’

सेयर धितो कर्जालाई सहजीकरण गर्दै १२ करोड कर्जा एउटै बैंकबाट पाउने व्यवस्था बनाउनुपर्ने कोइरालाको भनाइ छ। ‘सेयर बजारलाई अस्थिर बनाउने उद्देश्यका साथ ४–१२ लाई चलाएर फेरि घटाउने स्तो नीति ल्याएको खण्डमा हामी लगानीकर्ता राष्ट्र बैंकविरुद्ध नै आन्दोलनमा उत्रिन बाध्य हुनेछौँ’, उनले भने। 

मौद्रिक नीतिबाट मार्जिन ट्रेडिङ व्यवस्थालाई सहजीकरण गरी थप प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको कोइरालाले बताए। 

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल विगत सात महिनादेखि प्यानिक भएका लगानीकर्तालाई राहत दिने किसिमको नीति ल्याउनुपर्ने बताउँछिन्। ‘मौद्रिक नीतिका लागि हामीबाट सुझावमात्र लिइन्छ। तर उक्त विषयहरु नीतिमा समेटिँदैन’, पोख्रेल भन्छिन्, ‘मौद्रिक नीतिमा हाम्रो सबैभन्दा महत्वपूर्ण सुझाव नै ४–१२ को क्याप खारेज गरिनुपर्छ भन्ने नै हो।’

राष्ट्र बैंकले तरलता सहजीकरणका लागि आवश्यक नीतिहरु अवलम्बन गर्नुपर्ने पोख्रेलले बताइन्। ‘तरलता सहजीकरणका लागि सीसीडीलाई सीडी कायम गर्ने व्यवस्था मिलाउन आवश्यक छ’, उनले भनिन्।

सेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोला कसैको स्वार्थ नबाझिने किसिमको सन्तुलित नीति ल्याउनुपर्ने बताउँछन्। ‘लगानीकर्ताले आफ्नो सम्पत्ति राखेर जति पनि ऋण लिन पाउनुपर्छ’, बास्तोला भन्छन्, ‘त्यसैले ४–१२ को नीति पूर्ण रुपमा हटाएर कर्जामा कुनै पनि किसिमको सीमा राखिनुहुँदैन। त्यसका साथै सेयर धितोलाई रिस्क वेटेज जोनमा राखिएको छ, त्यो पनि हटाउनुपर्छ।’

‘संस्थागत लगानीकर्ताहरु नभएका कारण बैंक तथा वित्तीय संस्थाले बजारको स्थिरतामा ठूलो भूमिका निर्वाह गर्छन्’, बास्तोलाले भने, ‘त्यसैले बैंक तथा वित्तीय संस्थालाई सेयर बजार लगानी गर्न दिनुपर्छ।’

ब्याजदरलाई अस्थिर नबनाउने साथै सन्तुलित सीमामा राख्ने नीति ल्याइनुपर्ने बास्तोला बताउँछन्। ‘त्यसका साथै राष्ट्र बैंकले ब्रोकरहरुलाई मार्जिन लेन्डिङका लागि कोष खडा गरेर मार्जिन लेन्डिङ प्रभावकारी बनाउन आवश्यक छ’, उनले भने।