-गोपालप्रसाद पोखरेल 

पथरी । तपाईले गाईभँैसी चराएको त देख्नु वा सुन्नु भएकै होला, तर किसानले मौरीसमेत चराउँछन् भन्दा तपाईलाई पत्यार नलाग्न सक्छन् । 

तर यो कुरा सत्य हो । मोरङको रंगेली–३ स्थित रञ्जनीका किसान यमनाथ पाठकले मौरी चराउने गर्नुभएको छ । 

आफैँले र छर छिमेकीले लगाएको तोरी ढकमक्क फुलेपछि मौरीको घार नै बोकेर उहाँले चराउँदै आउनुभएको छ । तोरी नफुल्ने समयमा समेत उहाँले जंगलमा लगेर मौरी चराउने गर्नुभएको छ । रञ्जनीमा पाथीभरा मौरीपालन उद्योग स्थापना गरेर पाठकले मौरी पालन गर्दै आउनुभएको छ । 

खडानन्द खनालका अनुसार चार बिगाहामा तोरी खेती गरेको र प्रत्येक वर्ष मौरी चराउन ल्याउन आग्रह गर्ने गरेको उहाँ बताउनुहुन्छ । पहिले तोरीमा लाइ लाग्ने, किरा लाग्ने गरेको र परागसेचनको काम मौरीले नै गरेको हुनाले मौरीको घारै बोकेर तोरी खेतीमा ल्याएर चराउने गरेको पाठकको भनाइ छ । मौरी ल्याएपछि आफूले तोरीमा विगत चार÷पाँच वर्षदेखि कुनै पनि कीटनाशक औषधिको प्रयोग नगरेको र बिगाहामा २० मनदेखि २२ मनसम्म तोरी उब्जनी हुने गरेकोसमेत खनालको भनाइ छ । 

२०६० सालदेखि मौरीपालनमा लागेका यमनाथ शुरुका दिनमा चार घारबाट मौरीपालन शुरु गर्नुभएको हो । अहिले २०० घारसम्म पाल्न सफल हुनुभएको छ । उहाँले एक घार बराबर ५० हजारदेखि ६० हजारसम्म मौरी हुने गरेका छन् । 

वार्षिकरुपमा २०० घारबाट पाँच हजार केजीअर्थात् (५० क्विन्टल) मह वार्षिक उत्पादन हुन्छ भने रु ३० लाख बराबरको आम्दानी हुने गरेको समेत पाठकको भनाइ छ । पाथीभरा मौरीपालन उद्योग स्थापना गरेर उत्पादन गरेको महप्रति केजी रु ६०० को दरले बिक्री वितरण गर्ने गरेको उहाँले सुनाउनुभयो । 

उहाँले उत्पादन गरेको महको बजार मोरङ, झापा, सुनसरी, ताप्लेजुङ, पाँचथर, बिर्तामोड, धरानमा बिक्रीका लागी पठाउने गरिएको पाठकको भनाइ छ । उहाँ मात्र होइन थोरै लगानीमा राम्रो आम्दानी हुने भएपछि उत्तरी मोरङका कृषक मौरीमा लगानी गर्न हौसिएका छन् । 

मोरङको पथरीशनिश्चरे, उर्लाबारी, लेटाङ–भोगटेनी नगरपालिका, बयरवन, केरौन, होक्लाबारी जस्ता ठाउँमा व्यवसायीकरुपमा मौरी पालन हुँदै आएको छ । 

मौरीपालनले एकहजार घार मौरीबाट वार्षिक रु २० लाख अम्दानी भएको व्यावसायिक मौरीपालक कृषकको भनाइ छ । मोरङमा महको मागसँगै यसको उत्पादनमा पनि वृद्धि भइरहेको छ । व्यवसायको शुरुको वर्ष नै एक घार मौरीबाट वार्षिक रु २० लाख आम्दानी गर्न सकिने मेलिफेरा मौरीपालन सहकारी संस्थाका संस्थापक सदस्य सूर्य कटुवालको भनाइ छ । 

बहुसंख्यक गाउँका शैक्षिक बेरोजगार युवा पैसा कमाउने चक्करमा भौतारिइरहेको अवस्थामा उहाँहरुको यो कार्य प्रेरणाको स्रोत नै बनेको छ । बर्खा र हिउँद महिनामा भने मौरीबाट आम्दानी हुँदैन । मौरी अन्य किरामध्ये एक फाइदाजनक र धेरै संख्यामा रहने किरा हो । यहाँ पालिने मौरी धेरैजसो कठ्यौरी जातका हुन् ।