काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशका अधिकाश भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आइतबार भित्रिएको पश्चिमी वायुले प्रभावले देशको पश्चिमी भूभागका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् गङ्गा नगरकोटीले यस वर्ष लगाातार रुपमा भित्रिएको पश्चिमी वायुको प्रभावले देशका अधिकांश ठाउँमा बदली र वर्षा भइरहेको बताउनुभयो । पश्चिमी वायु एकपछि अर्काे निरन्तर भित्रिरहँदा लामो समयसम्म घाम लाग्न सकेको छैन । आज पहाडी जिल्ला बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलालगायत उच्च हिमाली भेगमा वर्षासँगै हिमपात भइरहेको छ । 

मङ्गलबारदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायु आज मध्यरातिदेखि विस्तारै सुदूरपश्चिमबाट कम हुँदै पूर्वबाट बाहिरिने मौसमविद् नगरकोटीले बताउनुभयो । यस वर्ष हिउँदे वर्षा औसतभन्दा बढी भएको महाशाखाले जनाएको छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

बिहीबार देशका पूर्वी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । शुक्रबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २२ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । त्यस्तै सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २८ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । 

म्याग्दीमा चौँथो पटक हिमपात

 

म्याग्दीको माथिल्लो क्षेत्रमा बुधबार बिहानैदेखि वर्षासँगै हिमपात भएको छ । वर्षा र हिमपातका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । 

जिल्लाको माथिल्लो क्षेत्रमा यस वर्ष चाँैथो पटक हिमपात भएपछि हिउँदेबाली र जनजीवनमा प्रतिकूल असर परेको छ । बालीमा बढी चिसोका कारण क्षति पुगेको छ भने मानिस र पशु चौपाया जाडोका कारण कठ्याङ्ग्रिएर बस्न बाध्य भएका छन् । 

मङ्गलबार दिउँसो मौसम सफा भए पनि बेलुकीदेखि ग्रामीण क्षेत्रमा हावाहुरीसँगै वर्षा र हिमपात शुरु भएको हो । बेनी नगरपालिकाको ग्रामीण बस्तीमा सामान्य हिमपात भए पनि मालिका, मङ्गला, धौलागिरि, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा यो सिजनमा चौँथो पटक हिमपात भएको छ । 

मालिका गाउँपालिका–५ देवीस्थान हिमपातले सेताम्ये भएको छ भने ओखरबोटलगायतका ठाउँमा पनि अहिले हिउँ परिरहेको स्थानीय टेकबहादुर बुढाले जानकारी दिनुभयो । १२ वर्षको अन्तरालमा जिल्लाको तल्लो क्षेत्रमा पटक पटक हिमपात भएको स्थानीयले बताएका छन् । हिमपातका कारण चिसो बढेपछि स्थानीय बाहिर निस्कन नसकेका ताकमका बुद्धिप्रसाद सुवेदीले बताउनुभयो । 

उता म्याग्दीको दुर्गम गुर्जामा पुरानै हिउँ पग्लिनसकेको अवस्थामा पुनः हिमपात भएपछि समस्या उत्पन्न भएको छ ।