बेनी (म्याग्दी)। पर्यटक आउने क्रम बढ्न थालेपछि जिल्लामा होटलको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । हाल जिल्लामा होटलको सङ्ख्या १२० नाघेको छ ।

दुई वर्षअघि जिल्लामा ८७ वटा होटल रहेका थिए । यी सबै होटलमा ८३ करोड रुपैयाँभन्दा बढीको लगानी रहेको घरेलु तथा साना उद्योग विकास समितिका अध्यक्ष लीलाराम गौतमले जानकारी दिए।

सदरमुकाम बेनी, पर्यटकीय क्षेत्र घोरेपानी, शिख, भुरुङतातोपानी, सिंगा, दानालगायतका ठाउँमा होटल खुल्ने क्रम बढ्दै गएको छ ।

सञ्चालन भएका होटलमा पर्यटकलाई आवश्यक सम्पूर्ण सुविधा छ । वार्षिक ३० हजारको अनुपातमा तेस्रो मुलुकका पर्यटक भित्रिने जिल्लाका होटलमा २४६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

गत आवमा नयाँ होटल दर्ता एवम् पुरानाको नवीकरणबापत समितिले रु दुई लाख २८ हजार राजस्व सङ्कलन गरेको थियो ।