-भक्तराज रसाइली
काठमाण्डौ । म्युचुअल फण्डहरुले प्रदान गर्ने प्रतिफल निकै निराशाजनक रहेको छ । फण्डहरुप्रति पछिल्लो समय बजार सरोकारवालाहरुको समेत असन्तुष्टि चुलिएको छ ।
हालसम्म आर्थिक वर्ष २०७६/७७ को प्रतिफल ५ वटा म्युचअल फण्डले घोषणा गरेका छन् । हाल १८ म्युचुअल फण्डहरु सञ्चालनमा छन् ।
गत आर्थिक वर्षका लागि सिद्धार्थ क्यापिटलको सिद्धार्थ इक्विटी फण्डले ७ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमले ५ प्रतिशत नगद लाभांशमात्रै घोषणा गरेका छन् ।
यस्तै नबिल इन्भेष्टमेन्ट बैंकिङले सञ्चालन गरेका नबिल ब्यालेन्स फण्ड २ ले ९ प्रतिशत, नबिल इक्विटी फण्डले ७ प्रतिशत लाभांश घोषणा गरेको छ । एनआइबीएल एसबाट सञ्चालित एनआइबीएल समृद्धि फण्डले मात्रै १२ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ ।
पछिल्लो समय म्युचुअल फण्डहरुले लगानीकर्ताको विश्वास गुमाइरहेको देखिन्छ । फण्डको न्याभ(नेट एसेट्स भ्यालु) नै ७ रुपैयाँ हाराहारीसम्म झर्यो भने फण्डको प्रति इकाई अंकित मूल्य रु.१० बाट ६ रुपैयाँसम्म पनि ओर्लेको अवस्था छ ।
म्युचुअल फण्ड सञ्चालकसँग सूचनाको भण्डार नै हुन्छ । सञ्चालकमा आधारभूत प्राविधिक विज्ञदेखि विभिन्न अत्याधुनिक प्रविधिले सुसज्जित हुन्छन् । बजार घटेकाले नै रिटर्न दिन नसकेको भन्दै फण्ड सञ्चालकहरु तर्किने गरेका छन् । बजारको जस्तोसुकै उत्तारचढाव र अवस्थाबाट नै कमाउने अवसर सिर्जना भइरहेको हुन्छ ।
नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोष नियमावलि,२०६७ लागू गरी नियमावली बमोजिम पूँजीबजारमा संस्थागत लगानीको अभ्युदय र बजार विस्तारको चाहनाअनुरुप म्युचुअल फण्ड सञ्चालनको लक्ष्य राखेको थियो । सेयर बजारबारे जानकार नभएका, तर सेयर लगानीबाट रिटर्न लिन चाहनेहरुका लागि म्युचुअल फण्डहरु राम्रो लगानीको विकल्प मानिन्छ, विश्वमा । तर, नेपालमा भने सर्वसाधारणबाट उठाएको करोडौं रकम सेयर बजारमा लगानी गर्नेहरुको रणनीति फेल हुँदै जान थालेको छ ।
नेपालमा म्युचुअल फण्ड लगानी र राम्रो रिटर्नको भरपर्दो र विश्वसनीय लगानीको विकल्प बन्न सकिरहेको छैन ।
बोर्डद्वारा विगत एकदशकदेखि म्युचुअल फण्डलाई प्रवद्र्धन गर्न आइपीओमा ५ प्रतिशत आरक्षण, लाभकर छुट, कर्पोरेट कर छुट लगायत विविध सुविधा उपलब्ध गराइएको छ । कतिपयले यसलाई म्युचुअल फण्डहरुले पाउँदै आएका ज्वाइँ सुविधा समेत भन्ने गरेका छन् ।
तर, यस्ता फण्डहरु दर्जनौ ज्वाइँ सुविधा लिएर पनि लगानीकर्तालाई डबल डिजिटमा रिटर्न प्रदान गर्न असमर्थ बनिरहेका छन् । कतिपय म्युचअल फण्डले त विगत ३ ४ वर्षदेखि रिटर्न समेत दिन सकेका छैनन् । सर्वसाधारणबाट करोडौं रकम उठाई निश्चित समूह वा व्यक्तिलाई मात्र लाभ पुग्ने गरी नेपालका यस्ता फण्डहरुले काम गरिरहेका त छैनन् ? भन्ने प्रश्न समेत पछिल्लो समयमा पेचिलो बन्दै गइरहेको छ ।
गत जेठ २५ गते नेपाल धितोपत्र बोर्डको वार्षिक कार्यक्रममा समेत अर्थमन्त्री डा.युवराज खतिवडाले म्युचुअल फण्डको भूमिका प्रभावकारी नभइरहेको दाबी गर्दै नियामकलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका थिए ।
कोभिड १९ को असरअघि बिना कुनै झञ्झट र जोखिमरहित तवरले मुद्धती निक्षेपमा १० प्रतिशत हाराहारी ब्याज पाइन्थ्यो । फाइनान्स कम्पनीको ऋणपत्रमा लगानी गर्नेले त १२ प्रतिशतसम्म ब्याज वा प्रतिफल पाउने अवस्था थियो । तर यी सबै वित्तीय औजारको तुलनामा नेपालमा काम नलाग्नै देखिए म्युचुअल फण्डहरु । अहिलेसम्म लाभांश घोषणा गर्नेहरुको एनआइबीएल समृद्धि फण्डबाहेक अन्यले सिंगल डिजिट मात्र प्रतिफल दिन सकेका छैनन्, यसले फण्ड संचालकहरु पनि हावादारी ढंगले बजारमा लगानी गर्छन् भन्ने देखिन्छ । बाहिर जति नै ठूलो गफ दिए पनि यिनीहरुमा काम लाग्ने विज्ञ समूह छैन भन्ने देखिन्छ वा विज्ञ भनिएकाहरुको विज्ञताले नेपाली बजारमा काम गरेन भन्न पनि सकिन्छ ।
नेपालको जस्तो सेयर बजारमा लगानी गरी राम्रो प्रतिफल पाउने प्रशस्त संभावना हुँदा हुँदै पनि म्युचुअल फण्डहरुले इकाईधनीहरुलाई चाहिँ किन राम्रो रिटर्न दिन सकिरहेका छैनन् ? किन उनीहरुको प्रदर्शन कमजोर बनिरहेको छ ? उनीहरुप्रति सर्वसाधारण लगानीकर्ताको विश्वास किन टुटिरहेको छ ? यही विषयमा बजारका जानकारहरुको भनाई हेरौं:
ज्योति दाहाल, बजार विश्लेषक
म्युचुअल फण्डहरुलाई नियामकले नै अनिवार्य न्यूनतम १० प्रतिशत रिटर्न दिइनुपर्ने बाध्यकारी नियम बनाउनुपर्छ । यदि न्यूनतम १० प्रतिशतभन्दा कम रिटर्न दिइएको खण्डमा म्युचुअल फण्डलाई जरीवाना गर्ने व्यवस्था हुुनुपर्छ । केही म्युचुअल फण्डहरुले ४ ५ वर्षसम्म रिटर्न नदिँदा लगानीकर्तालाई अन्याय भएको देखिन्छ । फण्ड सञ्चालकका विज्ञ टिमले यथेष्ट विश्लेषण गर्न नसक्नु र व्यवस्थापनको असक्षमताको पराकाष्ठा रहेको मेरो बुझाइ हो । सीए योग्यता भएपछि फण्ड सञ्चालकको सीइओ हुन पाउने, तर सेयर बजारको गहिराइका विषयमा भने जानकार नहुने अवस्थाले यो दर्दनाक अवस्था सिर्जना भएको हो । विगत १० वर्षदेखि सेयर बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित आएका म्युचुअल फण्डका लागि गरिने आइपीओ आरक्षणको व्यवस्था पनि तत्काल खारेज गर्नुपर्छ ।
नारायण देशार, बजार जानकार
रिसर्चमा आधारित भएर म्युचुअल फण्डहरुले लगानी गर्न नसकेको मेरो बुझाई छ । बजार रातो हुँदा किन्ने र हरियो हुँदा बेच्ने विश्वव्यापी सामान्य सिद्धान्त पनि अवलम्बन नगरिरहेका नेपालका म्युचुअल फण्डहरु बजार बढेमात्र सक्रिय हुने परिपाटी नै गलत छ । सेयर किनबेचमा संस्थागत भूमिका प्रदर्शन कतै छैन । केबल एउटा सामान्य लगानीकर्ता झैं सेयर खरिदबिक्री गर्ने अभ्यासमा सञ्चालित फण्डहरुले खराब प्रदर्शन गरेपछि अवश्य पनि रिटर्नमा नराम्रो धक्का पुग्ने र न्यून प्रतिफल मात्रै हात लाग्ने अवस्था छ । संस्थागत लगानीकर्ता भएपछि भएको ठूलो फण्ड पनि बजार रातो भएको बेला बैंकमा थुपार्ने प्रवृत्ति र घटेको बजारमा जोखिम लिने सक्षमता प्रदर्शन नहुुनु निकै दुःखद पक्ष हो ।
अर्जुन पराजुली, बजार जानकार
म्युचुअल फण्डमा प्रोफेसनल टिमकै अभावले लगानीकर्ताले न्यून प्रतिफल पाइरहेका हुन् । जब कि बजारको रिटर्नभन्दा म्युचुअल फण्डको रिटर्न बढी नै हुनुुपर्ने हो । आरक्षण र छुट भएपछि म्युचुअल फण्डहरुले डबल डिजिटमा स्थिर प्रतिफल दिनसक्ने हैसियत हुुनुपर्छ । धितोपत्र बोर्डको सामूहिक लगानी कोष नियमावली,२०६७ निर्देशिका बमोजिम लगानी विविधिकरणमा म्युचुअल फण्डहरु चुकेका छन् । एउटा साधारण व्यक्तिसरह सिंगल डिजिटमा रिटर्न दिइनुले सन्तुष्ट हुने कतै ठाउँ छैन । विशिष्टिकृत लगानी र लगानी विविधिकरणलाई नजरअन्दाज गर्दै फण्डहरुले सामान्य व्यक्तिगत लगानीकर्ताको व्यवहार प्रदर्शन गरिरहेकाले समेत राम्रो प्रतिफल दिने अवस्था नभएको हो ।
केशव कोइराला, बजार जानकार
म्युचुअल फण्डहरुमा लगानी, किन सधैं बालुवामा पानी ? बैकले भर्ती गरेका सेतो हात्ती जस्ता बिशेषज्ञहरुले कस्तो लगानी रणनीति बनाउँदैछन् ? किन १० प्रतिशत हाराहारीमा वार्षिक लाभांश पाउन पनि वर्षौ कुर्नुपर्ने, प्राथमिक निष्कासनमा लगानी गर्ने लगानीकर्ताहरुले ? दोस्रो बजारमा सूचीकरण हुनेबित्तिकै हरेक म्युचुअल फन्ड अंकित मूल्यभन्दा तल कारोबार हुनु समग्र फण्ड व्यवस्थापनको कमजोरी हैन र ? ऐनले दिएको कर छुट र प्राथमिक निष्कासनको ५ प्रतिशत आरक्षणको समेत बद्नाम गरेका छन् यस्ता फण्डहरुले । फण्ड व्यवस्थापकहरुले वित्तीय संस्थाहरुको ऋणपत्रमा लगानी गर्दा ढुक्कले १२ प्रतिशतसम्म प्रतिफल पाउने विकल्प हुँदाहँुदै कति दिन म्युचुअल फण्डको पछाडि लाग्लान् लगानीकर्ता ? फण्ड व्यवस्थापकहरुले यो विषयमा गम्भीर बनुन् ।
नयन बास्तोला, लगानीकर्ता दवाब समूह(महासचिव)
कुशल व्यवस्थापनकै अभावमा म्युचुअल फण्डहरुले राम्रो रिटर्न दिन नसकेको देखिन्छ । फण्ड सञ्चालनका नाममा जनताबाट उठाइएका रकम अनावश्यक खर्चमा समाहित गर्नु र सेयर बजार नै नबुझेका विज्ञकै कारण म्युचुअल फण्डहरुको प्रदर्शन नराम्रो भइरहेको छ भने दिनानुदिन म्युचुअल फण्डले आम लगानीकर्ताहरुको विश्वास र भरोसामाथि नै कुठाराघात भएको छ । यस विषयमा नियामक नेपाल धितोपत्र बोर्डलाई बारम्बार गुनासो गर्दा समेत सम्बोधन नहुनु कतै बोर्डकै अधिकारीहरुको पनि अप्रत्यक्ष रुपमा म्युचुअल फण्डका संचालकहरुसँग साँठगाँठ त छैन ? भन्ने आशंका उब्जिन्छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago