काठमाण्डौ । दोस्रो बजारमा सर्वसाधारण लगानीकर्ता घाटामा हुनु कुनै नौलो होइन। सर्वसाधरणले सेयरमा गुमाए भन्नु पनि कुनै अनौठो विषयबस्तु होइन। तर, सर्वसाधारण लगानीकर्ताले नै ‘ज्वाइँ सुविधा पाए’ भनेर आरोप लगाउँदै आएका म्युचुअल फन्डहरुको अवस्था पनि सेयर बजारमा कन्तबिजोग नै रहेको छ। 

आफ्नो भ्यालु कायम राख्न नसकेका म्युचुअल फन्डहरुको कार्यसम्पादनबाट प्रस्टै हुन्छ। हाल दोस्रो बजारमा कारोबारमा रहेका ३७ वटा म्युचुअल फन्डमध्ये ३५ वटाको बजारमूल्य १० रुपैयाँभन्दा तल रहेको छ। 

दोस्रो बजारमा कारोबार भएका २ वटा म्युचुअल फन्डहरुको मात्रै बजारमूल्य पार भ्यालुभन्दा माथि रहेको छ। 

अघिल्लो साताको म्युचुअल फन्डहरुको साप्ताहिक विवरणअनुसार एनआईबिएल समृद्ध फन्ड र सानिमा इक्विटी फन्डबाहेक बाँकी सबै ३५ वटा म्युचुअल फन्डहरुको बजारमूल्य १० रुपैयाँभन्दा तल रहेको छ। 

त्यसैगरी अघिल्लो साताको साप्ताहिक विवरणअनुसार नै २३ वटा म्युचुअल फन्डहरुको न्याभ १० रुपैयाँभन्दा तल रहेको छ भने १४ वटाको मात्रै न्याभ १० रुपैयाँभन्दा माथि रहेको छ।