काठमाण्डौ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले यथार्थपरक बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद वाग्लेले यस्तो सुझाव दिएका हुन्। ‘जेठमा अविश्वसनीय बजेट ल्याउने र माघमा चुपचाप कटौती गर्नुभन्दा यथार्थपकर बजेट ल्याउनुपर्छ’, उनले भने, ‘अहिले अलिकति यथार्थपरक बजेट ल्याउन म सरकारलाई आग्रह पनि गर्छु र हामी नियमन पनि गर्छौं।’

वाग्लेले चालु खर्च, पुँजीगत खर्च, अनुदानलगायतका विषयमा के भइरहेका छन् भन्ने तथ्यांक व्यापक रहेको बताए। उनले सरकारलाई विगत हेरेर भविष्यका योजना बनाउन सुझाव पनि दिए। 

निजी क्षेत्रले उत्पादनमूलक क्षेत्रमा लगाउने पुँजीलाई सरकारले सोसेर अनुत्पादक प्रयोजनमा खर्च गरिराखेको वाग्लेको भनाइ थियो।

नीति तथा कार्यक्रममा ल्याएका विषयमा आधारित भएर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न वाग्लेले सुझाव दिए। ‘मुलुकको क्षमता, नीति र कार्यान्वयनलगायतको नियतलाई राम्रोसँग बुझेर बजेट निर्माण हुनुपर्छ’, उनले भने, ‘बजेट हेरेपछि अर्थतन्त्र कसरी अगाडि बढ्छ भन्ने प्रस्ट हुन्छ। नीति तथा कार्यक्रममा तोकिएका लक्ष्यहरु प्राप्तिका लागि बजेट कहाँ र कसरी छुट्याइन्छ, सरकारको मनसाय त्यतिबेला प्रस्ट रुपमा देख्नेछौँ।’