– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सेयर बजारमा आएको रौनक केही दिनयता क्रमशः हराउँदै गएको छ। बजारमा कारोबार रकम र सेयरको भोलुम दुवै घट्दै गएको देखिन्छ। मूल्यरेखाले ‘लोअर लो’ बनाएको अवस्था रहेको छ। यसले बजारमा बिक्रीचाप परेको बुझिन्छ। 

प्राविधिक रुपमा बजार पटक–पटक माथि जान खोजेको तर बोलिंगर ब्यान्डको तल्लो विन्दुलाई नै छुन आएकोले बजारमा बिक्रीचाप परेको बुझिन्छ। यसै सिलसिलामा आज हामीले बजारलाई केही अल्पकालीन तथा दीर्घकालीन औजारहरुबाट केलाउने कोसिस गरेका छौँ। 

अल्पकालीन औजारले बजारमा करेक्सन लगभग सकिँदै गएको देखाएको छ। इलिअट वेभजस्ता दीर्घकालीन औजारले बजारको करेक्सन स्वाभाविक भएको र केही समयको साइडवेजपछि बजार माथि नै जाने संकेत गरेको देखिन्छ। 

मैनबत्ती विश्लेषणका आधारमा 

मैनबत्ती विश्लेषणअन्तर्गत गएको आजको बजारले तल लामो पुच्छर बनाएको छ। यसले कारोबारको अन्तिमा खरिदकर्ता हावी भएको र बजारमा विस्तारै बिक्रीकर्ता हराउँदै गएको बुझिन्छ। यसका साथै यदि आउन कारोबारमा हरियो मारुबुजु बन्छ भने आगामी कारोबारमा खरिदकर्ता हावी हुन सक्छन्।

इलिअट वेभका आधारमा 

यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरुले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। यदि नेपलाको सेयर बजारलाई २९३ को विन्दुदेखि अहिलेसम्मको चक्रलाई केलाएर हेर्ने हो भने र करिब १० वर्षको चक्रमा इन्टरमिडियट डिग्रीको वेभ (१) १८८१ मा बनाएको देखिन्छ। वेभ (२) बनाउन बजार करेक्सन हुँदै १०९८ को विन्दुमा बलियो टेवा लिएर हाल इन्टरमिडियट डिग्रीको वेभ (३) लगभग ३२०० सम्म पुगेको छ। ‘जसलाई हामीले भन्दै आएका छौँ कि यो सबैभन्दा लामो र ठूलो हुन्छ। वेभ (४) भनेको करेक्सन हो, जुन अहिले भइरहेको छ। सामान्य तय वेभ (४) वेभ (३) फिवोनासीको ३८.२ प्रतिशतसम्म करेक्सन हुन्छ भन्ने मान्यताका आधारमा हालको करेक्सन बजारले अझै केही अंक गुमाएर २४६० सम्म आउन पनि सक्छ। इलिअट वेभकै वेभ १ बराबर वेभ ५ पनि हुन्छ भन्ने सिद्धान्तलाई आधार मान्दा अब यहाँबाट बढेको बजार लगभग (२४६० प्लस १८८१) लगभग बजार ४३०० सम्म पुगेर वेभ (५) सकिन सक्छ। (हेर्नुहोस् माथि मुख्य तस्बिर) 

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो सिद्धान्तअनुसार यदि बजार घटेमा ०.२३ प्रतिशतको टेवा २९०८ को विन्दुसम्म, ०.३८ प्रतिशतको टेवा २७०७ को विन्दुसम्म, ०.५ प्रतिशतको टेवा २५४५ को विन्दुसम्म र ०.६१ प्रतिशतको टेवा २४०० को विन्दुसम्म बजार आउन सक्ने देखिन्छ। (जुन तस्बिरमा हेर्न सकिन्छ।)

एमएसीडी लाइनका आधारमा

एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रसओभर र माथिबाट काट्छ भने बियरिस क्रसओभर हुन्छ। यो लाइनअन्तर्गत भन्नुपर्दा एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काटेको छ (हेर्नुहोस् रातो एरो)। हिस्टोग्राम नकारात्मक र क्रमशः छोटा–छोटा बन्दै गएका छन्। यो आधारमा बजारमा बिक्रीचाप विस्तारै कम हुँदै गएको भन्न सकिन्छ। 

बोलिंगर ब्यान्डका आधारमा

यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। बजारलाई बोलिंगर ब्यान्डअन्तर्गत हेर्दा मूल्यरेखाले केही समय पहिला अपर ब्यान्डलाई छोएर तल झरेको र पटक–पटक तल्लो ब्यान्डमा टेस्ट गरेर माथि जान खोजेको तर नसकेको अवस्था छ। हाल बजार मध्य ब्यान्डभन्दा तल नै कारोबार भएको देखिन्छ। यसले बजार बियरिस भएको संकेत गर्छ। बोलिंगर ब्यान्ड पनि विस्तारै बाङ्गिँदै गएको देखिन्छ। अप्पर ब्यान्ड र लोअर ब्यान्डको दूरी बढ्दै गएकोले उच्च उतारचढाव भएको बुझिन्छ।

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यसअन्तर्गत हालको बजारको आरएसआई ३० को जोनमा रहेको छ। जसको अर्थ हुन्छ ओभर सोल्ड जोनमा छ र अघिल्लोपटक यो विन्दु ७६.९७ को तहमा पुगेपछि करेक्सन आएको थियो। बजारको न्यून आरएसआई हालको न्यून ३० रहेको छ। आरएसआईको विन्दु घट्ने क्रम रोकिएको देखिन्छ। यसले बजार जुनसुकै बेला माथि जान सक्ने देखिन्छ। 

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।