काठमाण्डौ । मंगलबार झिनो अंकले बढेको सेयर बजार परिसूचक बुधबार भने झिनो अंकले नै घटेको छ । यो दिन नेप्से परिसूचक ४.७९ अंकले घटी ११७२.३० विन्दूमा सीमित बन्न पुगेको छ । 

बजार सुधारका लागि आवश्यक प्रयासहरु कतैबाट नहुँदा र लगानीकर्ताको आत्माबल बढाउने खालका कुनै नीतिगत परिवर्तन समेत नभएका कारण बजारमा गिरावट आएको देखिएको छ । पूँजीगत लाभकरको बिषय अझै अन्यौलमा छ भने बैंक ब्याजदर समेत घट्न सकेको छैन । मौद्रिक नीतिमा व्यक्तिगत ओडीको सीमा घटाउने गरी भएको व्यवस्थाबाट निरुत्साहित ठूला लगानीकर्ता अझै पनि ‘पर्ख र हेर’को अवस्थामा छन् । उनीहरुले लामो समयसम्म पनि बामपन्थी नेतृत्वको सरकारलाई पत्याइरहेका छैनन् । 

बजारमा अपेक्षित सुधार नहुँदा लगानीकर्ताले दैनिक लाखौं गुमाइरहेका छन् । लगानीकर्ताका संघसंगठनले त निरन्तरको गिरावटले सेयर बजारबाट पूँजी समेत पलायन भइरहेको दाबी समेत गर्न भ्याएका छन् । 

बजार निरन्तर घटिरहँदा कारोबार रकम पनि २० करोडको हाराहारीमा सीमित बन्न थालेको छ । 

बुधबार क वर्गका कम्पनीमा बिक्री चाप देखिँदा सेन्सेटिभ इण्डेक्स ०.८ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.३४ अंकको गिरावट देखिएको छ । 

यो दिन बजारका सबै समूहको परिसूचकमा गिरावट आएको छ । बैंकिंग समूह २.४८ अंकले घटेको यो दिन होटल समूह २.२६, विकास बैंक समूह ७.९७, जलविद्युत समूह ७.९५, बित्त समूह २.१२, निर्जीवन बिमा समूह २८.४, उत्पादनमूलक १७.०६, अन्य समूह ४.५, जीवन बिमा समूह ३८.१८ र माइक्रोफाइनान्स समूह ९.६३ अंकले घट्यो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६३ कम्पनीका ६ लाख ४ हजार ४ सय ३८ कित्ता सेयर १९ करोड २१ लाख ५६ हजार ३ सय २६ रुपैयाँमा किनबेच भयो । 

यो दिन बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकले सबैभन्दा बढी १ करोड ३२ लाख बढीको कारोबार गर्यो । एनएमबी बैंकले ८७ लाख, मेगा बैंकले ८६ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ८४ लाख, चिलिमे हाइडोले ६२ लाख, एलआइसी नेपालले ५१ लाख, एनआइसी एशियाले ४९ लाख, एभरेष्ट बैंकले ४२ लाख बढीको कारोबार गरे । नेपाल इन्भेष्टमेन्ट बैंकको ४० लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नवील बैंकको समेत सोही बराबरको संस्थापक सेयरको कारोबार भयो । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा ङादी ग्रुप पावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयरमूल्य ४.१४ प्रतिशतले वृद्धि भयो । एनएमबी माइक्रोफाइनान्सको सेयर मूल्यमा ४ प्रतिशतले बढोत्तरी भयो । 

यो दिन कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै घट्यो । यो कम्पनीका लगानीकर्ताले ५.१६ प्रतिशतले सम्पत्ति गुमाए ।