market down-up
काठमाण्डौ । बजारको उछाल गति एक दिन पनि टिक्न सकेन । जसका कारण साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ७.३८ अंकले घट्दै १३८२.४५ अंकमा झरेको छ ।
सेयरको कारोबारमा पूर्ण स्वचालित अनलाइन प्रणाली सम्बन्धी काममा अघि बढेको प्रक्रिया, निर्वाचनको मिति घोषणाले अन्यौलको राजनीतिमा हुनसक्ने सुधार, तरलता अभावको समस्या बिस्तारै कम हुँदै जाने बैंकर्स तथा नियामकहरुको आश्वासन लगायतका कारण बुधबार उछालको गतिमा बढेको बजार एक दिन पनि नटिकी बिहीबार राताम्मे भएको हो ।
बिहीबार विकास बैंक समूहको परिसूचकमा १.०२ अंकको झिनो बढोत्तरी देखियो भने बाँकी सबै समूहको सूचकमा रातो पोतियो ।
वाणिज्य बैंक समूह ४.२५ अंकले घट्यो भने होटल, जलविद्युत, वित्त, बिमा समूह क्रमशः ३२.७, २३.९७, ९.४८ र २६.२७ अंकले ओर्लिए । उत्पादनमूलकमा ३.४९ अंकको गिरावट आयो भने अन्य समूह १६.२ अंकले घट्यो ।
'क' वर्गको कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्समा १.३५ तथा समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.४८ अंकको गिरावट देखियो ।
धेरै कारोबार गर्ने कम्पनी
एक अंकले बजार घटे पनि बजारलाई कारोबार(टर्नओभर)को भने निकै दरिलो साथ प्राप्त भएको छ । यसले आगामी दिनमा बजारमा ठूलो पहिरो जान नसक्ने तथा स्थिर बन्ने संकेत गर्ने विश्लेषकहरु बताउँछन् । १४० कम्पनीको १२ लाख ९५ हजार ५ सय ९९ कित्ता सेयर ५४ करोड ३१ लाखमा कारोबार भयो । बुधबार उच्च अंकले बजार बढ्दा कारोबार ६० करोडको हाराहारीमा मात्र थियो ।
कम्पनीगत हिसाबले सबैभन्दा बढी नेपाल एसबीआई बैंकको ४ करोड १३ लाखको सेयर किनबेच भयो । नेपाल लाइफ इन्स्योरेन्सले ३ करोड ९८ लाख, प्रभू बैंकले २ करोड ९७ लाख, सानिमा बैंकले २ करोड ४७ लाख, गरिमा विकास बैंकले २ करोड २८ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ९८ लाख, बैंक अफ काठमाण्डूू लुम्बिनी लिमीटेडले १ करोड ६५ लाख, एनबी बैंकले १ करोड ३४ लाख बढीको सेयर कारोबार गरे । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ८ स्थानमा वाणिज्य बैंक, एक स्थानमा बिमा कम्पनी र बाँकी एक स्थानमा विकास बैंकको कब्जा रह्यो ।
धेरै कमाउने र गुमाउने कम्पनी
बिहीबार ३ कम्पनीले पैसा छापे । नेरुडे लघुवित्त विकास बैंक, राप्तिभेरी विकास बैंक र जानकी फाइनान्सका लगानीकर्ता मालामाल भए । नेरुडे र राप्तिभेरीको सेयर मूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि देखियो भने जानकी फाइनान्सको सेयर मूल्य ८.०२ प्रतिशतले बढ्यो । यस्तै, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको सेयर मूल्य पनि ८ प्रतिशतको हाराहारीमै बढ्यो ।
सहयोगी विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै घट्यो । यो कम्पनीको सेयर मूल्यमा ८.५५ प्रतिशतको गिरावट आयो । एनएमबी बैंकको संस्थापक सेयरको गिर्दो क्रम बिहीबार पनि रोकिएन । यो कम्पनीको सेयर मूल्य बिहीबार पनि ७ प्रतिशतको हाराहारीमा घट्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago