काठमाण्डौ । राजनीतिक दलहरु चुनावी अभियानमा जोडतोडका साथ लागे पनि लगानीकर्ता भने निर्वाचन भएर धमिलिएको राजनीति संग्लिएला भनेर अझै विश्वस्त हुन सकेका छैनन् । केही अन्यौलका कारण उनीहरु ‘पर्ख र हेर’को अवस्थामा छन् । लगानीकर्ताको यही रणनीतिका कारण बजारमा खरीद चाप घटेको छ र यो अवधिमा थोरै नाफा लिएर सेयर बिक्री गर्नेहरु सक्रिय भएका छन् । यही कारण साताको अन्तिम कारोबार दिन बिहीबार बजार ९.२ अंकले घटेर १६५३.१८ अंकमा झरेको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।
बजार बढ्ने झिनो आशामाथि तातोपानी खन्याउँदै बिहीबार सबै समूहमा रातो पोतियो । बढ्ने आशा गरिएको बिमा समूहको सूचकमा त पहिरो नै गयो । यो समूह साताको अन्तिम कारोबार दिन १.०४ प्रतिशत(९३.६८ अंक)ले घट्न पुग्यो । यस्तै बैकिङ, विकास बैंक र बित्त समूहमा क्रमशः ५.९२, १२.४४ र ५.७६ अंकको गिरावट देखियो । होटल समूह १२.८१, जलविद्युत समूह १२.२१ र अन्य समूह ३.७६ अंकले घटे । उत्पादनमूलकमा ०.०६ अंकको झिनो बढोत्तरी देखियो ।
‘क’ वर्गका कम्पनीहरुको सेयर बिक्रीको चाप बढ्दा सेन्सेटिभ इण्डेक्स १.८७ अंकले घट्यो भने फ्लोट इण्डेक्समा पनि ०.७ अंकको गिरावट देखियो ।
धेरै कारोबार गर्ने कम्पनी
बिहीबार बजारमा १ सय ४४ कम्पनीका कुल १२ लाख ९५ हजार ५ सय ७३ कित्ता सेयर ७९ करोड ५९ लाखमा किनबेच भयो ।
यो दिन सबैभन्दा बढी नेपाल एसबीआई बैंकले ४ करोड ७८ लाख बढीको कारोबार गर्यो । यस्तै, प्रभू बैंकले ४ करोड ३ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ३ करोड ५९ लाख, सानिमा हाइड्रोले ३ करोड ५० लाख, स्ट्याण्डर्ड चार्टर्डले २ करोड ३२ लाख, शिखर इन्स्योरेन्सले २ करोड २९ लाख बढीको कारोबार गरे । बिहीबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थान वाणिज्य बैंक, ३ स्थान बिमा कम्पनी र २ स्थान हाइड्रो कम्पनीले ओगटे ।
धेरै कमाउने र गुमाउने कम्पनी
बिहीबार २ कम्पनीका सेयरधनी मालामाल भए । भार्गव विकास बैंक र साहारा विकास बैंकको सेयर मूल्य यो दिन १० प्रतिशतले बढ्यो । यस्तै, काबेली विकास बैंकले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्य ७.५१ प्रतिशतले घट्न पुग्यो । प्रोग्रेसिभ फाइनान्स लिमीटेड र सेती फाइनान्सको सेयर मूल्य पनि साढे ६ प्रतिशतले घट्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago