काठमाण्डौ । चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन बजारले लगानीकर्तालाई निराश बनाएको छ । अधिकांश लगानीकर्ता नयाँ आर्थिक वर्षको सुरुवातसँगै सार्वजनिक हुने कम्पनीहरुको वार्षिक बित्तीय विवरणको पर्खाईमा रहेका कारण समेत बजारमा अपेक्षित सुधार हुन नसकेको हो । 

बजारमा ठूला लगानीकर्ताहरुले भ्याट प्रकरणको बिषयमा दवाब दिने उद्देश्यले साउन १ गतेदेखि सेयर कारोबार नगर्ने तथा नगर्न आह्वान गरेको बिषयले समेत नकारात्मक प्रभाव पारेको देखिएको छ । 

वर्षकै अन्तिम कारोबार दिन नेप्से परिसूचक ४.८९ अंकले घटेको हो । १५८२.६७ अंकमा झरेको बजारमा कारोबार चाहि ७४ करोड माथिको भयो । 

'क' वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.८८ अंक तथा समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.४१ अंकले घट्यो । अन्य समूह बाहेक अन्य सबै समूहको सूचकमा रातो पोतियो।

वाणिज्य बैंक, बिमा, विकास बैंक, जलविद्युत समूहमा क्रमशः ४.७३, ५३.६७, ५.९७, ६.४२ अंकको गिरावट देखियो । यस्तै, बित्त समूह ७.०१, होटल ३४.३२ र उत्पादनमूलक ३४.४१ अंकले घट्यो । अन्य समूह ११.८६ अंकले बढ्यो । 

धेरै कारोबार गर्ने कम्पनी
बिहीबार १ सय ५० कम्पनीको कुल २० लाख ४० हजार ७ सय २८ कित्ता सेयर ७४ करोड ६४ लाख ७७ हजार १ रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी फरवार्ड माइक्रो फाइनान्सको १२ करोड ८८ लाख बढीको सेयर कारोबार भयो । नेपाल लाइफ इन्स्योरेन्सले ४ करोड ५७ लाख, एनसीसी बैंकले २ करोड ६५ लाख, स्ट्याण्डर्ड चार्टर्डले २ करोड ५७ लाख, जलविद्युत लगानी तथा विकास कम्पनीले २ करोड ४९ लाख, सानिमा बैंकले २ करोड ३० लाख, ओरिएन्टल होटलले २ करोड १६ लाख, सानिमा माई हाइड्रोले २ करोड १६ लाख, रिदी हाइड्रोपावरले २ करोड ९ लाख बढीको कारोबार गर्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
घट्दो बजारमा चार कम्पनीका लगानीकर्ता मालामाल भए । कुुबेर मर्चेन्ट फाइनान्स लिमीटेडको सेयर मूल्य सबैभन्दा बढी ९.६० प्रतिशतले बढेको छ। यस्तै, ग्लोबल आइएमई समुुन्नत स्कीम १ को मूल्य ९.४५ प्रतिशत, दिव्यश्वरी हाइड्रोपावर लिमीटेडको ९.१८ प्रतिशत, नेशनल माइक्रो फाइनान्स बित्तीय संस्थाको मूल्य ९.१० प्रतिशतले बढेको छ । 

वर्षको अन्तिम कारोबार दिन मिथिला लघुवित्त विकास बैंकले सबैभन्दा धेरै ५.३५ प्रतिशतले सम्पत्ति मूल्य गुमायो । अरुण फाइनान्स लिमीटेडले ५.१६ प्रतिशतले गुमायो ।