काठमाण्डौ । दशैंको विदाको प्रभाव र वार्षिक नवीकरण शुल्क नबुझाउने ६४ कम्पनीको सेयर कारोबार रोक्का हुँदा नेप्से इण्डेक्स सोमबार पनि दोहोरो अंकले घटेको छ । 

नेप्से परिसूचक १०.३८ अंकले घटी १७९३.३६ अंकमा झरेको हो । ६३ करोड ६७ लाख बराबरको कारोबार भएको बजारमा ५० प्रतिशत भन्दा बढी कारोबार वाणिज्य बैंकहरुको मात्र भयो । वाणिज्य बैंक समूह १४.३९ अंकले तल झरे पनि कारोबार चाहि ३३ करोड ५६ लाख बराबरको भयो । दुई समूह बाहेक सबै समूहको सूचकमा रातो पोतियो । जलविद्युत समूह १७.७६ अंकले उक्लियो भने अन्य समूहमा ०.८७ अंकको झिनो बढोत्तरी देखियो । 

बिमा समूह ६२.०१ अंकले घट्दा बित्त समूह २.६९, विकास बैंक ३.७४ र होटल समूह २२.७५ अंकले तल झर्यो । 

सोमबार बजारमा ११६ कम्पनीको कुल ७ लाख ८३ हजार कित्ता सेयर मात्र किनबेच भयो । 

धेरै कारोबार गर्ने कम्पनी
आइतबार झै सोमबार पनि सबैभन्दा धेरै कुमारी बैंककै कारोबार भयो । यो बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंकसहित ४ बित्तीय संस्थालाई खरीद सम्झौता गरेपछि यसको सेयरमा लगानीकर्ताको आकर्षण बढेको छ । आइतबार १७ करोड माथि कारोबार गरेको कुमारी बैंकले सोमबार भने ७ करोड ५६ लाखको मात्र कारोबार गर्यो । 

प्रभू इन्स्योरेन्सले ५ करोड ७३ लाख, बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेडले ५ करोड ६६ लाख , ज्योति विकास बैंकले ४ करोड ७२ लाख, शिखर इन्स्योरेन्सले २ करोड ९८ लाख बराबरको कारोबार गरे । यस्तै, एभरेष्ट बैंकले २ करोड ५३ लाख, नेपाल बैंकले २ करोड २२ लाखको कारोबार गरे । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थान वाणिज्य बैंक, ४ स्थान बिमा कम्पनी र १ स्थानमा विकास बैंक समूहको बर्चश्व रह्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
सोमबार सबैभन्दा धेरै कामना विकास बैंकका लगानीकर्ताले कमाए । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा वृद्धि भयो । मितेरी डेभलपमेन्ट बैंक, ज्योति विकास  बैंक र अपी पावरको सेयर मूल्यमा ३ प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

सबैभन्दा धेरै किसान माइक्रो फाइनान्स बित्तीय संस्थाका लगानीकर्ताले गुमाए । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा घट्यो । आइसीएफसीको सेयर मूल्य पनि ४ प्रतिशतको हाराहारीमा ओर्लियो ।