काठमाण्डौ । अनलाइन प्रणालीको नाममा भएको भद्रगोल र कमजोरी सुधारमा नेप्सेको हदैसम्मको उदासीनताका कारण बजारले लगानीकर्तामा विश्वास गुमाउँदै गएको छ ।
लगानीकर्ता तथा ब्रोकरको गोप्य सूचना लामो समयसम्म लिक हुँदा सो विषयलाई गम्भीरतापूर्वक नलिने नेप्सेको विश्वस्तरीय भनिएको अनलाइन प्रणालीमा दिनहुँजसो समस्याहरु आइरहेका छन् । यस्ता समस्या समाधानका लागि नेप्से नेतृत्वले प्रभावकारी कदम चाल्न नसक्दा अनलाइन प्रणालीकै भद्रगोलका कारण आफ्नो सम्पत्ति तलमाथि हुने हो कि भन्ने त्रास लगानीकर्तामा बढ्दै गएको देखिन्छ । अनलाइन कारोबार प्रणालीको कार्यान्वयन भएपछि आफूहरुले गर्ने सेयर कारोबार सुरक्षित नभएको ठान्नेहरुको संख्या समेत दिनहुँ बढिरहेको छ ।
अनलाइनको यही भद्रगोलका कारण लगानीकर्ता, उनीहरुलाई कारोबारका लागि समन्वय गर्ने ब्रोकर नेप्से नेतृत्वप्रति नै रुष्ट बन्दै गएका छन् । कतिपय ठूला र संस्थागत लगानीकर्ता त अनलाइनको भद्रगोलको सही व्यवस्थापन नभएसम्म सेयर खरीदबिक्री नगर्ने मूडमै रहेका उनीहरु स्वयम्ले बताइरहेका छन् ।
यसरी प्रविधिले सुसज्जित भनिएको बजारप्रति लगानीकर्तामा विश्वास र उत्साह जगाउन नेप्से नेतृत्व असफल बन्दै गएको छ । लगानीकर्ता नेप्सेको गाइजात्रा शैलीका कारण आक्रोशित बनिरहेका छन् भने ब्रोकरहरु समेत नेप्सेलाई तालाचाबी बुझाउने तयारीसम्ममा पुगेका छन् ।
यिनै कारणले बजारमा चमक आउन नसकेको हो । विगत लामो समयदेखि बजार निरन्तर घटिरहेको छ । कुनै दिन गिरावट थामिएको जस्तो देखिए पनि सो दिन कारोबार रकम निकै न्यून हुन्छ ।
सोमबार समेत यस्तै भएको छ । नेप्से परिसूचक १.३४ विन्दूले बढे पनि कारोबार रकम भने घटेर २० करोडमा सीमित बन्न पुगेको छ । निरन्तरको गिरावट र लगानीकर्ताको गिर्दो मनोबलले बजार प्यानिक अवस्थामा पुगेको आभास हुन थालेको अनुभवी लगानीकर्ताहरुले बताउन थालेका छन् ।
यो दिन बैंकिंग समूह १.४८ अंकले घट्यो भने उत्पादनमूलकमा १०.२४ अंकले घट्यो । बाँकी सबै समूहको सूचकमा सामान्य बढोत्तरी भएको छ ।
होटल समूह १३.३४ अंकले बढेको यो दिन विकास बैंक समूह १३.७१ अंक, जलविद्युत समूह २.४४ अंक, बित्त समूह २.४ अंक, निर्जीवन बिमा समूह १०.२१ अंक, जीवन बिमा समूह २४.४२ अंक, माइक्रोफाइनान्स समूह १०.४५ अंक र अन्य समूह २.३६ अंकले बढेका छन् ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६६ कम्पनीका ६ लाख ८७ हजार ३ सय ३६ कित्ता सेयर २० करोड २७ लाख १४ हजार २२ रुपैयाँमा किनबेच भएका छन् ।
यो दिन अपर तामाकोशीले सबैभन्दा बढी १ करोड ४२ लाख बढीको कारोबार गर्यो । बाँकी कुनै पनि कम्पनीले १ करोड माथिको कारोबार गरेनन् ।
एनसीसी बैंकले ९३ लाख, एनएमबी बैंकले ८२ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ८० लाख बढीको कारोबार गरेका यो दिन नवील बैंकको ७१ लाख बढीको संस्थापक सेयर किनबेच भयो ।
प्रभू बैंकले ६१ लाख बढीको कारोबार गरेको यो दिन नेशनल लाइफ इन्स्योरेन्सले ५९ लाख, नेपाल इन्स्योरेन्सले ५७ लाख, नेपाल बैंकले ४९ लाख र इन्भेष्टमेन्ट बैंकले ४६ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन चौतारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता मालामाल भए । कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो ।
कालिका पावर कम्पनी लिमीटेडका लगानीकर्ताले ८ प्रतिशतको हाराहारीमा कमाए ।
वरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ३ प्रतिशतले घट्यो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19