Gastric Pain
झन्डै ८० प्रतिशत नेपालीलाई कुनै न कुनै बेला ग्यास्ट्रिक लागेको अनुमान छ । सबै समुदाय र उमेर समूहका मानिस ग्यास्ट्रिकबाट पीडित भएको चिकित्सकहरू बताउँछन् । मेडिकल भाषामा ‘ग्यास्ट्राइटिस’ भनेर चिनिने यो रोगलाई बोलीचालीको भाषामा ‘ग्यास्ट्रिक’ भनिन्छ ।
विज्ञहरूका अनुसार खाएका खाना पचाउन शरीरभित्र विभिन्न प्रकारका पाचन रस हुन्छन् । खाना खाँदा ‘हाइड्रोक्लोरिक एसिड’ नामक एक खालको अम्ल पनि उत्पादन भइरहेको हुन्छ । जसको उत्दादन आमाशयभित्र हुन्छ । यसले पनि खाना पचाउनलाई नै सहयोग पु¥याउने हो । साथै, हाइड्रोक्लोरिक एसिडले आमाशयभित्रका किटाणुहरूलाई मार्ने काम पनि गर्दछ । आमाशयभित्र ‘हेलिकोब्याक्टर पाइलोरी’ भन्ने एकखाले किटाणु हुन्छ । जब हाइड्रोक्लोरिक एसिड र हेलिकोब्याक्टर पाइलोरीको उत्पादन र मात्रामा तालमेल मिल्दैन तब ग्यास्ट्रिक हुने गर्छ ।
सामान्य ग्यास्ट्रिकले तत्काल ठूलो असर गरेको नदेखिए पनि कहिलेकाहीँ पेट तथा आमाशयमा प्वाल परी त्यसको असरले मानिसको मृत्यु समेत हुन सक्छ । पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो । ग्यास्ट्रिक हुँदा छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने, पेट पोल्ने, भोक नलाग्ने, अम्लपित्त बढ्ने, पेट भारी हुने, रिङटा लाग्ने, टाउको दुख्ने, पेट फुल्ने जस्ता लक्षण देखा पर्छन् । कसैलाई वाकवाकी लाग्ने, बान्ता हुने, डकार आउने, बान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुँडल्ने र तौल घट्दै जाने लक्षणसमेत देखिन्छ । आमाशयका भित्तामा ‘इन्फ्लामेसन’ (सुन्निएर रातो भएर दुख्ने समस्या) भयो भने पनि त्यो ग्यास्ट्रिकमा परिणत हुने चिकित्सकहरू बताउँछन् ।
अन्ननली हुँदै खाना आमाशय पुगेपछि केही पाचन रस निस्कन्छन् । यी रससँग खानेकुरा मिसिन्छ । त्यसपछि आमाशयभित्रै पाचनक्रिया सुरु हुन्छ । पाचन क्रियापछि शरीरका लागि आवश्यक तत्व रहन्छ र बिकार वस्तु सानोआन्द्रा हुँदै बाहिरिन्छ ।
पेटरोग विशेषज्ञ डा भुपेन्द्रकुमार बस्नेतका अनुसार खानेकुरा पचाउनलाई सहयोग गर्ने हाइड्रोक्लोरिक एसिडले कहिलेकाहीँ आमाशयको साइडमै असर पार्छ । रोग प्रतिरक्षा प्रणाली कमजोर भएका बेला यो एसिडका कारण आमाशयका भित्तामा ससना घाउहरू हुन्छन् । त्यस्ता घाउलाई सानो भएमा निरोजन र ठूलो भएमा अल्सर भनिन्छ ।
खानेकुरा पचाउन आउने ¥यालजस्तो एसिड ब्याक्टेरिया तथा किटाणु मार्न निस्कने हो, तर कहिलेकाहीँ यो एसिड बढी निस्कियो भने शरीरलाई हानी पु¥याउँछ । पेटमा सानोआन्द्रा र आमाशयको ‘म्युकोजा’ कमजोर भए हाइड्रोक्लोरिक एसिड सामान्य नै रहे पनि ग्यास्ट्रिक हुन सक्छ । यसैगरी, आमाशयको भित्तामा ‘एच पाइलरी’ भन्ने ब्याक्टेरिया हुन्छ, त्यसले ‘इन्फेक्सन’ गराएपछि अल्सर तथा क्यान्सरको सम्भावना बढी हुने चिकित्सकहरूको भनाइ छ ।
ग्यास्ट्रिक रोग जीवनशैली, खानपान, मानसिकता र शरीरको प्रकृतिसँग जोडिएको हुन्छ । जथाभावी खानपानले पनि ग्यास्ट्रिक बढाउँछ । अनियमित जीवनशैली जस्तैः भोक लागेको बेला नखाने, आवश्यकभन्दा ज्यादा खाने, खाना निश्चित समयमा नखाने, पचाउन कठिन हुने खाना खाने, खानापछि तत्कालै सुत्ने र शारीरिक श्रम गरेलगत्तै खाने बानीले पनि यो रोग बृद्धिमा सहयोग पु¥याइरहेको हुन्छ । व्यस्तता, मानसिक तनाव, भय, चिन्ता, शोक, अनिद्रा, शारीरिक श्रम वा व्यायाम नगर्नेहरूमा पनि ग्यास्ट्रिकको समस्या देखिन्छ ।
मदिरा तथा धुम्रपान जन्य पदार्थको सेवन, बढी मात्रामा चिया–कफि पिउने बानी र कार्बनिक पेय कोक, पेप्सी आदि खानेहरूमा पनि ग्यास्ट्रिकको समस्या देखिने चिकित्सकहरू बताउँछन् । यसैगरी, पेटको शल्यक्रिया, कलेजो, मृगौला, फियो तथा आन्द्राका रोग र एचआईभी एड्स संक्रमित बिरामीलाई पनि ग्यास्ट्रिकले सताउँछ ।
-Swasthyakhabar
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago